पछिल्ला दिनमा उपत्यकामा कोरोना सङ्क्रमण उच्च

रिपोर्ट नेपाल | 2020 Aug 17 | 07:42 am 2126

काठमाडौं, भदौ १ः कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौं उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ । उपत्यकामा पनि काठमाडौंमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा कोरोना पुुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमले यही अवस्थाले उपत्यकामा कोरोना बढ्दै जाने हो भने भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्नेछ भन्दै सचेत हुन आग्रह गरे ।

राजधानी काठमाडौंसँगै देशभर कोरोना सङ्क्रमण दिनहुँ बढ्दै गएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ वटा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर परीक्षण भएको यो सङ्ख्या हाल सम्मकै धेरै हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पर्सामा ४७ वर्षीय पुरुष र मोरङकी ५० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । योसहित हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.