पच्चीस लाख भारतीय रुपैयाँ र सुन बरामद

रिपोर्ट नेपाल | 2022 May 27 | 07:29 am 1317

कैलाली, जेठ १३ः कैलालीमा २५ लाख ६८ हजार भारतीय रुपियाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ ।

भारतको विभिन्न स्थानबाट भारुसहित सुन चोरी गरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले  रुपियाँ र सुन बरामद गरेको हो । जिल्लाको घोडाघोडी नगरपालिका–८ र बर्दगोरिया–४ सुन्दरपुरबाट खेतबारीमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

उनका अनुसार घोडाघोडी नगरपालिका–८ मा २३ लाख ४६ हजार भारतीय रुपियाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडिएको थियो । स्थानीय लालबहादुर थापाको घर नजिकबाट सो पैसा र सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैगरी, सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक भने स्टिलको डिब्बाभित्र राखेर दुई लाख २२ हजार भारतीय रुपियाँ जमिनमा गाडिएको थियो । नगद र सुन बरामदपछि चोरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गाेरखापत्र अनलाइन डटकमबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.