काठमाडौं, फागुन २९ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ५० वर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेपछि देशभरका जनताले खुशी व्यक्त गरेका छन् ।
जनताको बाँच्न पाउने र स्वास्थ्य रहने अधिकारलाई उच्च सम्मान गर्दै सरकारले उक्त निर्णय गरेको हो । सरकारको यो निर्णयले आर्थिक अभावका कारण रोग पालेर बस्न बाध्य विपन्न वर्गलाई ठूलो राहत मिलेको छ ।
नेपालमा अहिलेसम्म गरिब तथा विपन्न वर्गले धनाढ्यले जस्तै ऋणधन गरेर उपचार गर्न बाध्य थिए । सरकारले ५० वर्ष माथिका नागरिकको स्वास्थ्य सेवाको दायित्व लिने भएपछि सरकार जनता प्रति उत्तरदायी भएको महसुस गरिएको छ ।
स्मरण रहोस् कांग्रेस महामन्त्री गगन थापा स्वास्थ्य मन्त्री हुँदा समेत जनताको स्वास्थ्य र दीर्घ रोगीलाई भत्ताको निर्णय गरेका थिए । त्यो निर्णयलाई केपी ओली नेतृत्वको सरकारले हटाइदिएको थियो ।