न पानी पर्‍यो न हिउँ, चिसो भने बढेको बढ्यै

रिपोर्ट नेपाल | 2024 Jan 24 | 08:58 am 1397

गोरखा, माघ १०। किसानले खेती बालीका लागि कि पानी परोस्, कि हिउँ परोस् भन्ने चाहेका छन्। तर, केही दिनयता अत्याधिक चिसो मात्र बढिरहेको छ। किसानले चाहेझैं न पानी परेको छ, न गहुँबाली भिज्ने गरी हिउँ नै परेको छ।

‘मौसम एकदम सफा छ। चिसो पनि एकदमै बढेको छ’, चुमनुब्री–७ छुलेका भू छेतेनले भने, ‘एकहप्ता अघि अलिअलि हिउँ परेको थियो। अहिले त सुकिसक्यो। हिमालमै हिउँ छैन।’ ३४०० मिटर उचाइको छुले र निले गाउँमा पनि हिउँ नपरेको उनले बताए।

विगतमा पुसमा मौसम रुँदिन्थ्यो। माघमा झरी पथ्र्यो। ‘पुसको रुँद, माघको बुँद, फागुने झरी सम्या परी भन्ने बुढापाकाहरूको उखान नै थियो’, पालुङटार–९ का किसान मेघनाथ पोखरेल भन्छन्, ‘अहिले खेतीबालीले पानी मागिरहेका छन्, असोजदेखि पानी परेको छैन।’ पानी नपरेर मौसम धुम्म भएको र चिसो बढेर जनजीवन प्रभावित भएको उनले बताए।

चिसो जति बढे पनि हिउँ नपरेर स्थानीयवासी चिन्तित भएको चुमनुब्री–१ साम्दोका छिरिङ धाक्र्यालले बताए। ‘चिसो बढेर अत्याएको छ। तर, हिउँ परेको छैन’, उनले भने, ‘हिउँ परेको भए अली न्यानो हुन्थ्यो। तर, हिउँ नपरेर धेरै जाडो भइरहेको छ।’ हिउँ नपरेपछि यार्सागुम्बा नफस्टाउने भन्दै स्थानीयले चिन्ता गरेको उनले बताए। ‘यो सिजनमा पानी परेन भने यार्सागुम्बा पाइँदैन भनेर गाउँले चिन्ता गरिरहेका छन्’, उनले भने, ‘हिउँ नपरेपछि डडेलोको पनि डर हुन्छ।’

 

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.