न त दोषी पत्ता लाग्‍यो न त रोकियो आन्दोलन

| 2018 Oct 02 | 08:26 am 2376

कञ्‍चनपुर, असोज १६: निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाउनुपर्ने माग गर्दै महेन्द्रनगरमा धर्ना र प्रदर्शन जारी छ। घटनाबारे उच्चस्तरीय छानबिन समिति प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइप्रति पनि स्थानीय महिलाले आक्रोश जनाएका छन्। उनीहरूले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी दोषी पत्ता लगाउन माग गरेका हुन्।

स्थानीय महिलाले शनिबारदेखि महेन्द्रनगरको मदन चोकमा सुरु गरेको धर्ना सोमबार पनि जारी रह्यो। नागरिक संघर्ष समिति संयोजक मीना भण्डारी नेतृत्वमा दैनिक बिहान ९ देखि ५ बजेसम्म धर्ना दिइरहेको छ। ‘उच्चस्तरीय छानबिन समिति प्रतिवेदन सार्वजनिक नहुनुको कारण के हो?’ संयोजक भण्डारीले सोधिन्, ‘घटना भएको दुई महिना कटिसक्यो, अझै अपराधी पत्ता लगाउन सकिएको छैन।’

संघर्ष समितिले थप आन्दोलनका कार्यक्रमबारे पनि छलफल गरिरहेको भण्डारीले बताइन्। उनले नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग छलफल गरेर
आगामी कार्यक्रम घोषणा गरिने जानकारी दिएन्। अर्को कार्यक्रम घोषणा नहुँदासम्म धर्ना भने निरन्तर चलिरहनेछ। ‘हामी घरको सबै काम छाडेर आएका हौं,’ उनले भनिन्, ‘निर्मलालाई न्याय दिन खेतीपातीको काम पनि छाडेका छौं।’

नेपाल विद्यार्थी संघले सोमबार पनि आन्दोलनकै कार्यक्रमअन्तर्गत शैक्षिक संस्था बन्द गराएको छ। हत्यारा पत्ता लगाउन भइरहेको ढिलाइको विरोधमा जिल्लाभरिका शैक्षिक संस्था बन्द गरिएको नेविसंघ कञ्चनपुरका पूर्वउपाध्यक्ष केशव जोशीले बताए। मंगलबार कञ्चनपुर बन्दको कार्यक्रम राखिएको उनले जनाए। ‘निर्मलाले न्याय नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहनेछ,’ जोशीले भने, ‘मंगलबारको बन्दपछि थप कार्यक्रम घोषणा गरिनेछ।’ उनले दोषी पत्ता लगाएर कारबाही नहुँदासम्म चरणबद्ध आन्दोलन गरिने बताए।

विभिन्न आमा समूह, स्थानीय महिला पनि आन्दोलनमा छन्। दबाबमूलक संघर्ष समिति गठन गरेर उनीहरूले र्‍याली, प्रदर्शन र ज्ञापनपत्र बुझाउनेलगायत कार्यक्रम गरिरहेका छन् । चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारणमा असर पर्ने भएकाले शान्तिपूर्ण आन्दोलन र दबाबमूलक कार्यक्रम राखिएको संघर्ष समिति संयोजक हेलेन श्रेष्ठले बताइन्।

घटना भएको दुई महिनाभन्दा बढी भइसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धान भइरहेको भने पनि हालसम्म ठोस प्रगति देखिएको छैन। ‘अनुसन्धान जारी छ,’ जिल्ला प्रहरी कञ्चनपुरका एसपी कुवेर कडायतले भने, ‘हाम्रो अनुसन्धान साँघुरिँदै गएको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.