काठमाडौं, कार्तिक १२ : प्रहरीले सम्भवतः अहिलेसम्मकै ठुलो परिणाममा पटका गोदाममा छापा मारेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका विशेष टोलीले न्यूरोडको महाबौद्धस्थित दुर्इ गोदममा एकै पटक छापा मारेको हो।
महाशाखाका डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएको टोलीले एक कराेड रुपैयाँ बराबर मूल्य बराबरको १० क्विन्टल भन्दा बढी पटका बरामद गरेको महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले बताए।
अवैध रुपमा पटका भित्र्याउने सर्लाही वारगन्ज–७ का नन्दलाल साहसहित तीन जनालाई पक्राउ गरेको छ। खेलौना पसलको आवरणमा उनीहरुले पटकको अवैध धन्दा सञ्चालन गर्दै आएका थिए।
तिहार लक्षित गरी ल्याइएका पटका असरमा नै नेपाल भित्रिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। गोदाममा माल्टा बारुद, झिरझिरे, रकेट, चक्र, गमला लगायतका पटका बरामद भएको छ। बिष्फोटक पदार्थअन्तर्गत अनुसन्धान गरी दोषीलाई कारबाही गरिने प्रहरीको भनाई छ।