न्यायिक समितिद्वारा २१० मुद्दा छिनोफानो

रिपोर्ट नेपाल | 2018 Jul 25 | 07:56 am 2112

मोरङ, साउन ९: मोरङको पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले जिल्लाकै बढी संख्यामा मुद्दाको छिनोफानो गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा नगरपालिकाको न्यायिक समितिले २१० वटा मुद्दाको छिनोफानो गरेको नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले जानकारी दिइन्।

विसं ०७४ साउन १५ मा गठन भएको समितिमा ३१५ मुद्दाका निवेदन दर्ता भएकामा २१० वटा मुद्दा मेलमिलापको माध्यमबाट मिलाइएको उनले उल्लेख गरे।

बाँकी केही मुद्दा घरपरिवारमै मिलेको, केही अदालतमा दर्ता भएको तथा केही मुद्दा मिलाउने प्रक्रियामा रहेको बास्तोलाले जानकारी दिइन्। न्याय क्षेत्रमा जनताको सहज पहुँच पुगोस् भन्ने उद्देश्यले खडा भएको न्यायिक समिति बनेपछि वर्षौंदेखि न्याय नपाएर हैरान भएकाले न्याय पाएको उपप्रमुख बास्तोलाले उल्लेख गरिन्।

वडा नम्बर १ ले १३ वटा, २ ले पाँच, ३ ले छ, ४ ले पाँच, ५ ले ११, ६ ले चार, ७ ले १५, ८ ले चारा, ९ ले १० र १० ले ११ गरी ७५ वटा मुद्दा वडामै मिलाएका छन् ।

न्यायिक समितिले लेनदेनका ४३, पतिपत्नीका २६, साँध सिमानाका १८, घरायसी १०, अंशबण्डाका आठ, बाटो विवादका सातसहितका मुद्दा मिलाएको छ । एउटा मुद्दा अदालतमा पुगेको छ ।

वडातहमै मुद्दा मेलमिलाप गराउने र त्यहाँ किनारा लाग्न नसकेका मुद्दालाई साताको दुई दिन न्याय समितिले हेर्ने गरेको छ । समितिमा नगर उपप्रमुख संयोजक तथा कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा र वडा सदस्य दुर्गाप्रसाद सिटौला सदस्य रहेका छन्।

मेलमिलापको माध्यमबाट मुद्दा किनारा लगाउने सिद्धान्तलाई प्राथमिकता दिँदै प्रत्येक वडामा मेलमिलाप केन्द्र खडा गरिएको छ । तीन जनाका दरले मेलमिलाप कार्यकर्ता चयन गरिएको छ ।

विसं ०७४ पुस २४ देखि २८ गतेसम्म मेलमिलापकर्ताको प्रशिक्षण, ०७५ वैशाख ५ देखि ७ सम्म पुनतार्जगी तालीम सञ्चालन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.