न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाटमात्रै सुरु

रिपोर्ट नेपाल | 2020 Jul 23 | 02:36 pm 1721

काठमाडौं, साउन ८ः गत चैत ११ गतेदेखि कोरोना भाइरस रोकथामका लागि लागू भएको लकडाउन मंगलबार रातिदेखि अन्त्य भए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाटमात्रै सुरु हुने भएको छ ।

सेवाग्राही आवतजावतका लागि लामो दूरीका सवारीसाधन सञ्चालन नभएसम्मको अवधि अदालत खुलेको नमानिने सर्वोच्चको यसअघिकै निर्णय छ । सोअनुसार अदालतले दुई चरणमा म्याद हदम्याद कायम गर्ने गरी अदालतको नियमित कारबाही पुनः सञ्चालन गर्न लागेको छ ।

उपत्यकाका हकमा हाल लकडाउन अन्त्यको समयलाई नै आधार मानेर ३० दिनको समय म्याद तथा हदम्यादका लागि दिने छ । सर्वोच्चले मातहतका अदालतमा समेत सोहीअनुसार व्यवस्थापनका लागि परिपत्रको तयारी गरेको छ ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले अदालतको यसअघिकै फैसलालाई समेत आधार बनाएर नयाँ परिपत्र जारी गरिने बताएका छन् ।

काठमाडौं जिल्ला अदालत लगायतले आन्तरिक रूपमा नयाँ कार्यतालिका नै बनाइसकेको छ।

साउन ११ गतेदेखि चरणबद्ध रूपमा तारिख लिने समय तोकिएको छ । यसअघि सर्वोच्च अदालतले जेठ १५ गते बन्दाबन्दीको अवधिमा म्याद, हदम्याद तथा तारेख गुज्रने मुद्दालाई उक्त अवधि सकिएको ३० दिनसम्म समय कायम हुने फैसला गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.