नौ महिने शिशुको अपहरणपछि हत्या

रिपोर्ट नेपाल | 2018 Aug 28 | 07:54 am 2003

महोत्तरी, भदौ १२: महोत्तरीको औरही नगरपालिका–१ का सन्तोष चौधरीकी नौ महिने छोरी सोनालिकाको अपहरणपछि हत्या भएको छ । उनको शव सोमबार अपराह्न औरही नगरपालिकास्थित फेकु चौधरीको आँप बगैंचामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

घटनापछि आक्रोशित स्थानीयले औरही बजार बन्द गराएका छन् । बालिकाको शरीरभर निलडाम देखिएकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । बालिकालाई भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा आइतबार साँझ अपहरण गरेको पारिवारको दाबी छ ।

चौधरीको पसलमा रहेको सीसीटिभी फुटेजमा पनि साहले बालिकालाई बोकेको देखिएको छ । फरार साहको खोजीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक नकुल पोखरेल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खड्का र इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टको कमान्डमा सयभन्दा बढी प्रहरी परिचालन गरिएको राजधानी दैनिकमा खबर छ।

आइतबार साँझ साँढे ६ बजेतिर सन्तोषकी श्रीमतीले आफ्नै फेन्सी पसलमा छोरीलाई साथै राखेर व्यापार गरिरहेकी थिइन् । पसलमा आएका ग्राहकलाई सामान बिक्री गर्दैगर्दा छोरी चोरिएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

बच्चा लिएर चोरी गर्ने साह नै रहेको पसलमा जडान भएको सीसीटिभी क्यामराको फुटेजमा देखिन्छ। चार वर्षको छोरापछि छोरी जन्मिएपछि सन्तोषको परिवार निकै खुसी थियो । छोरी चोरी भएपछि परिवारमा रुवावासी चलेको थियो थियो । हत्यापछि भने उनीहरू मर्माहत बनेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.