नैनसिंह महरले यसरी गरे नेकपा सरकारका काण्डै–काण्डको पर्दाफास

| 2019 Sep 23 | 02:20 pm 1564

काठमाडौं, असोज ६: नेपाली कांग्रेसका नेता नैनसिंह महरद्वारा लिखित ‘नेकपा सरकारका काण्डै–काण्ड’ नामक पुस्तक सोमबार सार्वजनिक गरिएको छ।

राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहकाबीच कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले पुस्तक विमोचन गरेका हुन्।

पार्टीले संस्थागत रुपमा सरकारको सर्वसत्तावादी चरित्रका विरुद्ध खासै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला महरले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रममा महरले पुस्तकमा वर्तमान सरकारको पालामा भएका सुन काण्ड, सिन्डिकेट काण्ड, निर्मला काण्ड, ठेक्कापट्टा काण्ड, गाइ काण्ड, भ्रष्टाचर काण्ड, विधेयक काण्ड, बालुवाटार काण्ड, गुठी काण्ड, बजेट काण्डलगायत एक सय २० बढी सरकारका जनविरोधि काण्ड समेटेको बताएका छन्।

सरकारको असली रुप जनतासामु ल्याएर सरकारका गलत कामको पर्दाफास गर्न यो पुस्तक लेखिएको उनले बताए। अहिलेसम्म कुनै पनि सरकारले वर्तमान सरकारको जस्तो काण्डै–काण्ड नगरेको तर वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी हुनुभन्दा दुई तिहाइको दम्भमा एकपछि अर्को काण्ड गर्दै अगाडि बढेकाले आफू पुस्तक लेख्न बाध्य भएको बताएका थिए।

नेता महरले जनतालाई गुमराहमा राखेर सरकारले देशमा कम्युनिस्ट तानाशाहीवाद लाद्न खोजेको र त्यो आफूहरूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।

सभापति देउवाले सरकार राज्यका सबै सत्ताहरू आफ्नो हातमा लिएर सर्वसत्तावाद मार्फत कम्युनिस्ट अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका थिए। सर्वसत्तावादको खिलाफमा जनमत तयार गर्न महरको पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने सभापति देउवाको विश्वास थियो।

यस्तै महामन्त्री कोइरालाले जतालाई सुसूचित गराउनु पर्नेमा यो पुस्तक उत्कृष्ट हुने बताए। उनले सरकारलाई बुझ्न नेता महरले लेखेको पुस्तक पढ्दा पर्याप्त जानकारी हुने धारणा राखेका थिए। उनले प्रत्यक नेपालीले सरकारका काला कर्तुतबारे जानकारी प्राप्त गर्न यो पुस्तक एकपटक पढ्नै पर्ने बताएका थिए। महामन्त्री कोइरालाले पुस्तकले प्रजातन्त्रको पक्षमा माहोल सिर्जना गर्नसमेत भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

यस्तै अन्य वक्ताहरूले नेपाली कांग्रेसले इतिहासमा नै पहिलोपटक डकुमेन्टेसन गरेर सरकारको कम्युनिस्टकरणको पर्दाफास गर्न ‘काण्डै–काण्ड’ नामक पुस्तक प्रकाशन भएको चर्चा गरेका थिए। देशभरका महाधिवेशन प्रतिनिधि, जिल्लाका भातृ संस्था, जिल्ला अध्यक्ष पदाधिकारी, स्थानीय प्रदेश र संघमा कांग्रेसबाट बनेका उम्मेदवार र शुभेच्छुकको नाममै पुस्तक घर घरमा पुर्‍याउने योजना रहेको पार्टीले जनाएको छ।

कांग्रेसको दोस्रो जागरण अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा हुने सरकारविरुद्धको प्रर्दशनमा एकसाथ पुस्तक सार्वजनिक गरिने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.