काठमाडौं, असोज २२ : नेविसंघमा ३२ वर्षे उमेरहद कायम भएको छ । विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्थाअनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको छ। अब नेविसंघमा ३२ वर्ष कटेका कुनै पनि नेताले महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनेछैनन् ।
आइतबार दिउँसो ४ बजेदेखि राति साढे १० बजेसम्म बसेको केन्द्रीय समितिको बैठकले नेविसंघको १२औँ महाधिवेशन उमेरहद लगाएरै गर्ने निर्णय गरेको हो । ३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरूबीच मत बाझिँदा मध्यरातसम्म छलफल लम्बिएको थियो । केही दिन छलफल गरेर मात्र विधानको टुंगो लगाउने कि आइतबारै टुंग्याउने भन्नेमा नेताहरूबीच मत बाझिएको थियो ।
पौडेल र सिटौला पक्षले नेविसंघको विधानमा पर्याप्त छलफल गर्न माग गरेका थिए । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले विधानमा पर्याप्त छलफल गर्न नपाएको भन्दै बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको नेविसंघका पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । डा महतलाई नेविसंघका विषयमा सामान्य समन्वय गर्न जिम्मेवारी दिए पनि उनले मनोमानी गरेको आरोप अर्को पक्षको छ ।
महाधिवेशनको अन्योल कायमै
झन्डै एक महिनाअघि नेविसंघले ३२ वर्षे उमेरहद हटाउनुपर्नेसहितका वैधानिक व्यवस्था पारित गर्नका लागि पार्टी नेतृत्वलाई बुझाए पनि ढिलो गरी उमेरहदको विषय पार्टीले टुंग्याइदिएको छ । तर, समयमा निर्णय नहुँदा तल्लो तहका अधिवेशन प्रभावित भइसकेका छन् । यस्तोमा नेविसंघको महाधिवेशनका विषयमा थप निर्णय गर्न आगमी २५ असोजमा केन्द्रीय समितिको बैठक पुनः डाकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
आइतबारको बैठकमा ३३ केन्द्रीय सदस्यले बोलेका थिए । नेविसंघको १२औँ महाधिवेशन १६ कात्तिकदेखि तोकिएको छ । तर, समयमा विधान नटुंगिँदा तल्लो तहका अधिवेशन प्रभावित भइसकेका छन् । यसकारण अब निर्धारित समयमा महाधिवेशन हुने सम्भावना कम छ ।