काठमाडौं, असार २५: नेपाल विद्यार्थी संघले देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादीयुक्त तरकारी तथा फलफुलको नमूना उपहार पठाएको छ ।
नेविसंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल उपहारस्वरुप पठाएको हो ।
काठमाडौंमा भने निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेसहितको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई तरकारी तथा फलफुल पठाएको छ ।
सरकारले भारतबाट आयात हुने तरकारीमा विषादी प्रयोगको चेकजाँच नगर्नेबारे मन्त्रिपरिषद्बाटै निर्णय गरेपछि सर्वत्र विरोध हुँदै आएको छ । सरकारको निर्णयविरुद्ध चरणबद्ध आन्दोलनअन्तर्गत नै नेविसंघले प्रधानमन्त्रीलाई तरकारी तथा फलफूल उपहार पठाएको नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
गत आइतबार नेविसंघले मंगलबार देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने घोषणा गरेको थियो । आन्दोलनअन्तर्गत सोमबार देशभरका क्याम्पसअगाडि विषाक्त तरकारी तथा फलफूलसहित प्रदर्शनसमेत गरिएको थियो ।
बुधबार विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गरिने जनाएको नेविसंघले बिहीबार जुलुस र शुक्रबार मइतीघरमा बृहत प्रदर्शन तथा सभा आयोजना गर्ने बताइएकाे छ ।