गुल्मी, असोज १३: नेपाल कम्युनिस्ट पार्टी गुल्मीका प्रस्तावित सचिव बुद्धि जिसीले नेपाल विद्यार्थी संघको गतिविधि अराजक भएको आरोप लगाएका छन्।
शनिबार विश्व मुटु दिवसको अवसरमा गुल्मी सदरमुकाम तमघासमा भएको कार्यक्रममा नेविसंघले गरेको गितिविधि अराजक भएको नेता जिसीले बताएका हुन्। गृहमन्त्री राम बहादुर थापा बादल प्रमुख अतिथि रहेको बृहत स्वास्थ्य शिविरमा नेविसंघले विरोध गर्दै नाराबाजी गर्नु राजनीतिक नभएको उनले बताएका हुन्।
उनले भने, ‘स्वास्थ्य सेवा जस्तो विशुद्ध सामाजिक कार्य भईरहेको स्थान महेन्द्र नमुना माविको प्रांगणभित्रको बृहत निशुल्क स्वास्थ्य शिविरमा विरोध प्रदर्शन नगर्ने भन्दै दुई पार्टीका नेता स्तरमा सहमति भएको थियो। तर, उक्त सहमति उल्लंघन गर्दै नाराबाजी गरिनु राजनीतिक आचरण होइन्।’
‘हामीले कांग्रेस नेता विष्णु वलाल र नेवि संघ नेता सुदर्शन खनाल लगायत संग भेटेर यस्तो सहमति गर्दा गर्दै सहमति विपरित लुकी छिपी उहाँहरुले जुन हर्कत गर्नु भयो त्यो राजनीतिक गतिविधी होईन , अराजक गतिविधी हो’, उनले भने, ‘बरु बाहिर बाटो हिडेका बेला गृहमन्त्रीलाई कालो झण्डा देखाएर विरोध गरेको भए त्यसलाई राजनैतिक गतिविधी भन्न सकिन्थ्यो।’
बृहत निशुल्क स्वास्थ्य शिविरमा कैयौं मानिसहरुले खल्तीबाट पैसा हालेर शिविर चलाएर दुखी गरिबलाई स्वास्थ्य सेवा दिइरहेको उल्लेख गर्दै नेता जिसीले नेविसंघका केही कार्यकर्ताहरुले वितण्डा मच्चाएर कतिपय महिलाहरुले जचाउँन जाने कागज समेत च्यातेर भागेको आफूले देखेको बताए। उनले प्रश्न गरे, ‘दुखी विमारी र अर्काको पैसा माथि राजनीती ?’
एक विद्यार्थीले ‘बलात्कारी गृहमन्त्री …’ भनिएको अभिव्यक्तिलार्इ आपत्तीजनक रुपमा लिएको समेत उनले बताए।
यस सम्बन्धमा नेपाल तरुणदल गुल्मीका संयोजक तथा वडाध्यक्ष भरत भलामीसँग बुझ्दा गराउँदा आफुहरु विरोधका कुनै कार्यक्रम गर्न नपुगेको तर प्रहरी कै हस्तक्षेपका कारण केही कार्यकर्ताहरु उत्तेजित भएर नाराबाजी, हो हल्ला भएको बताए।