नेपाल-श्रीलंकाका राष्ट्रपतिबीच द्विपक्षीय वार्ता

| 2018 Sep 02 | 06:25 am 1767

काठमाडौं, भदौ १७: राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच शनिबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा द्विपक्षीय वार्ता भएको छ।

त्यस अवसरमा नेपाल-श्रीलंका सम्बन्धका सबै पक्षमा संक्षिप्त विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपतिद्वयको उपस्थितिमा दुवै देशका अधिकारीले आपसी सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालको परराष्ट्र अध्ययन प्रतिष्ठान र श्रीलंकाको बन्दरानायके अन्तर्राष्ट्रिय कूटनीतिक प्रशिक्षण प्रतिष्ठानबीच सहकार्यको समझदारी भएको हो। उक्त समझदारीपत्रमा परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि श्रीलंकाली राजदूत डब्ल्यू एस परेराले हस्ताक्षर गरेका थिए।

त्यसैगरी दुई देशबीच युवा विकाससम्बन्धी समझदारी भएको छ। आपसी सहयोगसम्बन्धी समझदारीपत्रमा युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले हस्ताक्षर गरे।

दुई पक्षीय वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलंकाका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, परराष्ट्र सचिव शंकरदास वैरागी, श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुर्‍याल र नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यू एस परेरा तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीले आफ्ना श्रीलंकाली समकक्षीको सम्मानमा रात्रिभोजको समेत आयोजना गरेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.