नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको ध्यानाकार्षण

रिपोर्ट नेपाल | 2019 Sep 10 | 10:03 pm 2473

काठमाडौं,  भदाै २४: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यसतर्फ पार्टी नेतृत्वको ध्यानाकार्षण गराएका हुन् । समयमै महाधिवेशन सम्पन्न गरि सबै भातृ संस्थाहरुको निर्वाचनमार्फत नेतृत्व चयन गरि पार्टीलाई बलियो बनाउनुपर्ने उनीहरुको जोड थियो ।

पार्टी सुधार गर्नुको सट्टा झारा टार्नको लागि दोस्रो जागरण अभियान शुरु गरि पार्टीका भ्रातृ संस्थाहरुलाई निष्कृय बनाएको उनीहरुको आरोप छ । जारी विज्ञप्तीमा भनिएको छ,‘यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । पार्टीलाई विधि विधान र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित रहेर संचालन गरिनुपर्ने, भ्रातृ संगठनहरुको गठन र महाधिवेशन गरिनृुपर्ने, पार्टीको महाधिवेशनको मिति घोषणा गर्न जोडदार रुपमा माग गर्दछौं । अन्यथा पार्टीलाई एकलौटी ढङ्गबाट चलाउन खोजिए त्यसका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौं ।’

क्षितिज भण्डारी

कार्यक्रममा बोल्दै नेविसंघका पूर्व उपाध्यक्ष तथा युवा नेता क्षितिज भण्डारीले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारको अधिनायकवादी कदमको आफ्नो पार्टीले सशक्त विरोध गर्न नसकेको आरोप लगाए । उनले तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको नेतृत्वदायी क्षमता र भूमिका वर्तमान सभापति शेरबहादुर देउवाले अनुशरण गर्नुपर्ने सुझाए ।

पार्टी नेतृत्वले ७ दिनभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला पक्षको सम्मानजनक उपस्थितिमा महाधिवेशन गर्ने केन्द्रिय समिति गठन नगरे ७७ वटै जिल्ला पार्टी कार्यालयमा आन्दोलन र केन्द्रिय कार्यालयमा आमरण अनशन गरिने पनि भण्डारीको चेतावनी थियो । त्यस्तै, उनले पार्टीको दोस्रो चरणको जागरण अभियान सकिएलगत्तै आमरण अनशन सुरु गर्ने पनि चेतावनी दिए ।

त्यस्तै, भण्डारीले वर्तमान पार्टी नेतृत्वले पार्टीका सच्चा नेता तथा कार्यकर्ताहरुलाई थाङ्नामा सुताउने काम गरेको अर्को गम्भिर आरोप लगाए । उनले भने,‘पार्टी नेतृत्वले जबरजस्ती गोजीबाट नेविसंघको समिति बनाए हामी समानान्तर कमिटी गठन गरेर अघि बढ्छौं ।’ उनले विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा राजनीतिक भागबण्डामा पदाधिकारी नियुक्ती गरिए आफूहरुलाई त्यो अस्विकार्य हुने पनि चेतावनी दिए । उनले पार्टी नसच्चिए अन्तर कमिटी गठन गरेरै अघि बढ्ने चेतावनी दिए ।

मोती भण्डारी

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय सदस्य मोती भण्डारीले भातृ संगठनलाई कोमामा राखेर पार्टी जागरण अभियानमा होमिएको चित्रण गरे । उनले नेविसंघजस्तो बलियो र जुझारु संगठन जोगाउनको लागि कांग्रेस नेतृत्व असक्षम भएको टिप्पणी गरे । पार्टी नेतृत्व ठोस कार्यदिशाा बिना जागरण अभियानमा होमिएको हुँदा आफूहरुले नेतृत्व पँक्तीलाई घचघचाउन यो कार्यक्रम गरेको भण्डारीले सुनाए । कार्यक्रममा भण्डारीले प्रेस वक्तव्य वाचन गरेका थिए ।

लीलावल्दव दाहाल ‘काका’

नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा पार्टी महाधिवेशन प्रतिनिधि लिलाबल्दव दाहाल ‘काका’ ले वर्तमान पार्टी नेतृत्व ईतिहासमै कमजोर भएर गिरेको आरोप लगाएका छन् । उनले पार्टी अहिले प्रतिपक्षमा हुँदापनि भूमिकाविहीन भएको टिप्पणी गरे ।
एनसेल कर प्रकरणमा पार्टी मौन बसकेकोमा पनि उनले कडा आलोचना गरे । उनले भने,‘देशलाई अरबौंको घाटा भएको छ । तर, हाम्रो पार्टी यो विषयमा मौन छ । यसले धेरै प्रश्नहरु उब्जाएका छन् ।’

उनले भने,‘शेरबहादुर देउवाले गलत काम गर्दापनि प्रभावशाली भनिने युवा नेताले एक शब्द पनि बोल्ने हिम्मत गरेका छैनन् । देउवामात्रै असक्षम होईनन, युवा नेतापनि असक्षम हुन् । त्यसैले उनीहरुले पनि राजीनामा दिनुपर्छ ।’ दाहालले पार्टी सभापति देउवालगायत युवा नेताद्धय शर्मा र थापाको सार्वजनिक कार्यक्रममा नै आफूहरुले कालो झण्डा देखाउने चेतावनी दिए ।

शिव रिमाल

कार्यक्रममा नेविसंघका निवर्तमान कोषाध्यक्ष शिव रिमालले पनि पार्टी सभापति शेरबहादुर देउवाले सिंगो पार्टी हाँक्नको लागि असक्षम भएकोले तत्काल राजीनामा दिनुपर्ने माग गरे । उनले कांग्रेसजस्तो गौरवशाली लोकतान्त्रिक पार्टीभित्र नेविसंघलाई आन्तरिक लोकतन्त्र खोज्न बाध्य तुल्याईएकोमा गुनासो पोखे । रिमालले आन्तरिक लोकतन्त्र खोज्जनको लागि आफूहरु सभापति देउवाको निजी निवास घेर्नसमेत पछि नपर्ने चेतावनी दिए ।

कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रिय सदस्य लिखितेन्द्र श्रेष्ठले वर्तमान नेकपा नेतृत्वको कम्युनिष्ट सरकार लुट्न र देश डुबाउनमात्रै उद्धत रहेको आरोप लगाएका छन् । उनले यस्तो अवस्थामा पनि कांग्रेस चुप लागेर बस्दा नेता, कार्यकर्ता र जनतामा प्रशस्त आशंका र भ्रम पैदा भएको टिप्पणी गरे ।

नेविसंघकी निवर्तमान केन्द्रिय सदस्य प्रेमिका रानामगरले पार्टी नेतृत्वले जागरण अभियानको नाममा नौटंकी देखाईरहेको गुनासो पोखिन् । भातृ संगठनलाई चलायमान बनाउनको लागि वर्तमान पार्टी नेतृत्व असक्षम भएको पनि उनको आरोप छ ।
उनले भनिन्,‘हाम्रो पार्टी सदन र सडक दुवै ठाउँमा जनताको आवाज उठाउन असमर्थ भएको छ ।’ उनले नेविसंघलाई तरुण दलजस्तो नबनाउन पनि पार्टी नेतृत्वलाई आग्रह गरिन् । उनले अहिले दिनप्रतिदिन महिला र विद्यार्थीहरु असुरक्षित बन्दै गएको सुनाउँदै यसप्रति वर्तमान सरकार गमिभर नरहेको जिकिर गरिन् ।

कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रिय सदस्यद्धय लोकेन्द्र शाही र महेश नेपालीले आ–आफ्ना धारणा राखेका थिए । पत्रकार सम्मेलनको सहजीकरण नेविसंघका प्रभावशाली नेता निवर्तमान केन्द्रिय सदस्य सुशील तिमिल्सिनाले गरेका थिए । अर्थपूर्णबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.