नेपाल वायुसेवा निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिकाे निर्देशन

रिपोर्ट नेपाल | 2019 Sep 17 | 06:57 am 1668

काठमाडौं, भदाै ३१: नाफा कमाउन नसकेको भन्दै नेपाल वायुसेवा निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो। दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो।

समितिले एमए ६० जहाज छानबिनका क्रममा यसको उडान सञ्चालन निरन्तर घाटामा रहेको तथ्य फेला पारेको थियो। चिनियाँ पक्षले आवश्यक सहयोग नगरेका कारण ती दुई जहाज बेच्नु उपयुक्त हुने निष्कर्षसहितको निर्देशन समितिले दिएको छ।

समितिले १८ सिट क्षमताका वाई १२ ई नामका चारवटा जहाजका सम्बन्धमा भने कूटनीतिक प्रयासबाट समस्या समाधान गराउनू भनेको छ। निर्माता कम्पनीसँग आवश्यक उडानका पार्टपुर्जा समयमा नै उपलब्ध गराउन पहल गर्नेसहितको निर्देशन सरकारलाई दिएको छ।

निगमले आव ०७३/७४ मा चिनियाँ जहाज उडाएर १९ करोड ११ लाख रुपैयाँ कमाएको थियो भने यी जहाज उडाउन ५३ करोड ७ लाख रुपैयाँ खर्च भएको उल्लेख छ। निगमलाई चिनियाँ जहाज उडाउँदा वार्षिक ३३ करोड ९६ लाख रुपैयाँ घाटा भएको तथ्यांकमा उल्लेख छ।

आव ०७४/७५ मा पनि चिनियाँ जहाज उडानबाट २३ करोड १५ लाख रुपैयाँ आम्दानी गरे पनि यसको कुल खर्च ८० करोड ७७ लाख रुपैयाँ भएको छ। यसबाट निगमलाई उक्त आवमा ५७ करोड ६१ लाख रुपैयाँ घाटा पुगेको निगमले संसदीय समितिलाई उपलब्ध गराएको वित्तीय विवरणमा उल्लेख छ। निगमलाई चिनियाँ जहाज भित्रिएको पहिलो दुई आर्थिक वर्षमै ९१ करोड ५७ लाख रुपैयाँ घाटा पुगेको थियो। आव ०७५/७६ को वित्तीय विवरण भने प्राप्त भएको छैन। अन्नपूर्ण पाेष्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.