नेपाल र भारत आज भिड्दै: दर्शक राख्न सरकारको स्वीकृति

रिपोर्ट नेपाल | 2021 Sep 02 | 07:51 am 1537

काठमाडौं, भदाै १७: नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बिहीबार हुने भारतविरुद्धको मैत्रीपूर्ण खेल जित्नकै लागि खेल्ने बताएका छन्। बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध हार वा बराबरीका लागि नभई नेपालले जित्नका लागि खेल्ने बताएका हुन्।

‘भारत निकै बलियो टोली हो। दक्षिण एसियामा संधै उसको दबदबा रहँदै आएको छ। यस्तोमा भारतलाई हराउन नेपाललाई निकै कठिन हुनेछ। त्यसका लागि हाम्रा खेलाडीले निकै मेहनत गर्नुपर्नेछ’, प्रशिक्षक अलमुताइरीले भने, ‘हामीले जित्नकै लागि खेल्नुपर्नेछ र खेल्छौं पनि।’

प्रशिक्षक अलमुताइरीले चिरप्रतिद्वन्द्वी भारतसँग इतिहास नभई वर्तमानलाई हेरेर खेल खेल्ने बताए। उनले नेपाली टोलीले वरीयतालाईभन्दा पनि खेललाई ध्यान दिने बताए। ‘हामी इतिहास हेरेर होइन, वर्तमानलाई हेरेर खेल खेल्छौं’, उनले भने, ‘त्यसैले हामीलाई इतिहास र वरीयताले कुनै प्रभाव पार्दैन। उनीहरू बलिया छन्। हामी पनि वीर गोर्खाली हौं।’ 

बुधबार भएको प्रिम्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी। तस्बिर : सुनिता डंगोल

उनले नेपाली टोलीको मुख्य लक्ष्य भारतसँगको मैत्रीपूर्ण खेलभन्दा पनि साफ च्याम्पियनसिप भएको बताए। ‘हाम्रो मुख्य लक्ष्य साफ च्याम्पियनसिप हो। दुई महिनादेखि त्यसकै लागि प्रशिक्षण गरिरहेका छौं। भारतसँगको मैत्रीपूर्ण खेल टिम सेट गर्ने र साफमा गल्तीहरू सुधार गर्ने हो’, उनले भने।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले भारतविरुद्धको दुवै खेल कठिन हुने बताए। ‘भारतसँगको खेल निकै कठिन हुनेछ। भारत बलियो टोली हो। त्यसैले बिहीबारको खेल पक्कै पनि कठिन हुनेछ’, किरणले भने, ‘भारतसँगको खेल नेपालको कमिकमजोरी पत्ता लगाउन महत्वपूर्ण सावित हुनेछ।’

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सहज नहुने बताए। ‘घरेलु टोलीसँग खेल्न हामीलाई निकै कठिन हुनेछ। घरेलु मैदान र समर्थकको साथले नेपाली टोलीको मनोबल उच्च छ’, प्रशिक्षक स्टिमेकले भने, ‘हामी विगतको प्रदर्शनलाई निरन्तरता दिने गरी खेल्ने छौं।’

नेपालले भारतसँग बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु हुनेछ। यस्तै दोस्रो खेल आइतबार हुनेछ। भारतविरुद्धको मैत्रीपूर्ण खेलमा सीमित दर्शक राख्न सरकारले स्वीकृति दिएको छ। ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सीमित दर्शक राख्न सरकारले अनुमति दिएको छ’, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘दर्शकले कोरोनाविरुद्धको दुवै खोप लगाएको वा पीसीआर रिपोर्ट नगेटिभ आएको देखाउनु पर्नेछ।’

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली भदौ २५ गते कतारको दोहा प्रस्थान गर्नेछ। दोहामा तयारी गरेर नेपाली टोली माल्दिभ्स जानेछ। साफ च्याम्पियनसिप असोज १५ देखि असोज ३० गतेसम्म आयोजना हुँदैछ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८, भारतसँग असोज २४ र बंगलादेशसँग असोज २७ मा प्रतिस्पर्धा गर्नेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका प्रतिस्पर्धा गर्नेछन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.