नेपाल प्रेस युनियनको स्थापना दिवसमा कुसुण्डा बालिकालाई शैक्षिक सामग्री सहयोग

| 2022 May 28 | 12:39 pm 1705

तनहुँ, जेठ १३ः नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल प्रेस युनियन तनहुँले शुक्रबार अति सिमान्तकृत तथा लोपोन्मूख कुसुण्डा जातिकी सिमान्त कुसुण्डालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

सिमान्त अध्ययन गर्ने दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । शैक्षिक सामग्री हस्तान्तरण गर्दै नेपाल पत्रकार समहासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्लेले स्थापना दिवसको उपलक्ष्यमा यस्ता रचनात्मक कार्य गरिनु राम्रो भएको बताए । साथै उनले कसुण्डा उत्थानको लागि जिल्ला सञ्चारकर्मीहरुको ठुलो भूमिका रहेको स्मरण गरे ।

सत्यवती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले सिमान्तकृत तथा लोपोन्मूख समुदाय कुसुण्डा बालिकाको शैक्षिक विकासमा चासो राखेर मद्धत गरेकोमा धन्यवाद व्यक्त गरे । साथै उनले विद्यालयको तर्फबाट पनि बालिकाको अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरेर प्रोत्साहन गरिने बताए । युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीले बालिका सिमान्तको अध्ययनको लागि विगतमा पनि सामाजिक सङ्घ सस्थासँग समन्वय गरी सहयोग पुर्याउँदै आएको र भविश्यमा पनि मद्धत पुर्याउने बताए ।

व्यास नगरपालिका–१० डिहीगाउँ निवासी सिमान्त सो विद्यालयमा कक्षा ७ मा अध्ययन गर्छिन् । शैक्षिक सामग्री सहयोग गरेकोमा सिमान्तको आमा इन्द्रमाया कुसुण्डाले अभार व्यक्त गरेकी थिइन् ।

कुसुण्डा लोपोन्मुख जातिमा पर्छ । तनहुँमा एक घर परिवार मात्रै कुसुण्डा छन् । राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालमा कुसुन्डाको जनसङ्या १ सय ७३ छ ।

इन्द्रमायाको परिवार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरीद गरी व्यास नगरपालिका–१० डिही गाउँमा निर्माण गरिदिएको तीन कोठे घरमा बस्दै आएका छन । कसुण्डा जातीको संरक्षणको लागि प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो ।

कुसुण्डाहरु स्याउलाका एकपाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रुपमा जङ्गलका विभिन्न ठाउँमा बसोवास गर्दथे । जङ्गली रूखबिरुवाका ठूल्ठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे । धनुष वाण, कालिज, गोहोरो, वन कुखुरा, मृग, स्याल लगायतको सिकार गर्दथे । वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जङ्गलमा पाइने कन्दमुल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे ।

जङ्गलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चाहरु मर्ने जस्ता कारणले कुुुसुण्डा लोप हुँदै गएकाले तनहुँका कुसुण्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.