नेपाल प्रहरी संगठन सत्तारूढ दलको भ्रातृ संगठन भएको सांसद यादवकाे आरोप

रिपोर्ट नेपाल | 2019 Sep 05 | 07:39 am 1908

काठमाडौं,  भदाै १९: प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सत्तारूढ दल समाजवादी पार्टीकी सांसद रेणु यादवले नेपाल प्रहरी संगठन सत्तारूढ दलको भ्रातृ संगठन भएको आरोप लगाएकी छन्।

संसद् बैठकमा विशेष समयमा बोल्दै उनले प्रहरी प्रशासनले सरकारको दबाबमा सत्तापक्षका कार्यकर्तालाई छुट दिएको बताइन्। उनले सरकारले भ्रष्टाचार बढाएको बताइन्। ‘वाइड बडी खरिद, सुनकाण्डका दोषी कहाँ छन् ? उनले भनिन्, ‘के सरकारको गतिविधि यही हो, दुईतिहाइको सरकार बनाएको यसैका लागि हो ?

कांग्रेस सांसद जीपछिरिङ लामाले एटिएमबाट चोरी हुँदा थाहा नपाउने बैंकलाई कारबाही गर्नुपर्ने बताए। बैंकका कर्मचारीको मिलेमतोबेगर कसरी चोरी हुन सक्छ, उनले भने यसको छानबिन होस्। राजपाका सांसद महेन्द्र राय यादवले निजगढ विमानस्थल बनाउन २४ लाख रूख काट्न लागिएको भन्दै विरोध गरे। ८ हेक्टरमा २४ लाख रूख काट्ने कुरा भएको छ, विमानस्थलका लागि कति जग्गा आवश्यक पर्ने हो यो सरकारले प्रदेश सरकारसँग समन्वय गर्नुपर्दछ, उनले भने।

नेकपा सांसद जुलीकुमारी महतोले नागरिकता विधेयक पारित नहुँदा कतिपय नेपालीले नागरिकता लिन वञ्चित हुनु परेको बताइन्। कांग्रेस सांसद दिलेन्द्र बडूले संघीयता खतरामा परेको उल्लेख गर्दै सरकारको गतिविधि यसको जिम्मेवार रहेको बताए।

यसैबीच, संसद्मा कांग्रेसका सांसद गगन थापालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद त्यागेर विश्राम गर्न आग्रह गरे पछि सत्तारूढ दलका सांसदले त्यसको विरोध गरेका छन्। थापाले सत्तारूढ नेकपासँग बहुमत भएको र पार्टीमा प्रधानमन्त्री भइसकेका र हुने इच्छा राख्ने व्यक्ति पनि भएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई विश्राम लिन आग्रह गरेका थिए। त्यसको नेकपाका सांसद सूर्य पाठकले विरोध गरेका थिए।

कांग्रेस नेता थापाले नेकपाका सांसदले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको बताए। उनले भने, प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ। हामी हाम्रो बा बिरामी हुनु भएको भए के भन्थ्यौं ? बा, धपेडी नगर्नुस्। आराम गर्नुस्। विश्राम लिनुस्। तर त्यसको ठाडै विरोध गर्दै सत्तारुढ दल नेकपाका सांसद् सूर्यप्रसाद पाठकले प्रधानमन्त्रीको राजीनामा आए हुन्थ्यो भन्ने कुरा पनि सुनियो भन्दै प्रधानमन्त्री पाँच वर्ष टिक्छ कि भन्ने चिन्ता लागेर राजीनामा माग गरेको बताए। नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.