काठमाडाैं, बैशाख २८ः गत शुक्रबार सिंहदरबारकाे मुल गेट अगाडि नेपाल प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ। स्वदेश फिर्ताको माग गर्दै प्रदर्शन गरेका ४७ चिनियाँहरू शुक्रबार पक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार उनीहरुलाई १० दिन हिरासतमा राखेर अनुसनधान गर्न प्रहरीलाई अनुमति दिएको हो। उनीहरू मध्ये चार जनालाई भने अभद्र व्यवहारमा मुद्दा चलाउन अनुसन्धान भइरहेको सिंहदरबार प्रहरी प्रभागका डिएसपी हरिबहादुर बस्नेतले बताए।
पक्राउ परेका मध्ये ४३ जनालाई साेही राति नेपालस्थित भिबो कम्पनीका प्रतिनिधिको जिम्मामा छाडिएको थियो। उनीहरू मध्ये ४ जना पनि भिबो कम्पनीकै कर्मचारी हुन्।
प्रदर्शन उत्रेका उनीहरुलाई प्रहरीले फर्किन आग्रह गरेको भएतापनि अटेर गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यसै बखतमा प्रहरी र चिनियाँबीच झडप भएको थियो।
झडपमा प्रहरी वृत्त सिंहदरबारका प्रहरी उपरीक्षक हरिबहादुर बस्नेतसहित दुई प्रहरीलाई चोट लागेको थियो। यस्तै चिनियाँ नागरिक पनि केहीलाई चोट लागेको थियो।
उनीहरूले एक सातादेखि चिनियाँ दूतावासमा धर्ना दिँदै आएका थिए। विविध कारणले दूतावासले फर्काउन नसक्ने बताएपछि चिनियाँ नागरिक सिंहदरबारमा धर्ना दिन पुगेका थिए।