नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिकिकरण

| 2023 Jul 08 | 08:42 am 1477

काठमाडौं, असार २३। प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति-सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिक गरिएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिकिकरण कार्यक्रमबीच उक्त कार्ययोजना सार्वजनिक गरेका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्ययोजनाको प्रमुख उद्देश्य भन्नु नै प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने भएकोले सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वामित्व लिई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने बताएका थिए।

प्रहरी महानिरीक्षक कुँवरले अहोरात्र जनताको जीउधनको सुरक्षामा खटिनु पर्ने जिम्मेवारी बहन गर्न उच्च मनोवलयुक्त प्रहरी कर्मचारीहरूबाट मात्र सम्भव भएकोले आन्तरिक शुद्धिकरण, वैज्ञानिक र विशिष्टिकृत अपराध अनुसन्धान प्रणाली, प्रहरी कर्मचारीका आधारभूत आवश्यकताहरूको परिपूर्ति, वृत्ति विकास र कल्याणकारी योजनाहरू यस कार्ययोजनाको मुख्य लक्ष्य रहेको बताए।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी कार्ययोजना-२०८०, नेपाल प्रहरी कार्ययोजना-२०७९ को समीक्षा, कार्यान्वयन कार्ययोजना बेन्चमार्क गतिविधिबारे प्रस्ट्याएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.