नेपाल पुर्‍याइयो विश्‍वकप ट्रफी, स्वयम्भूमा प्रदर्शन

| 2018 Oct 27 | 06:54 am 2070

काठमाडौँ- इंग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार साँझ स्वयम्भू प्रदर्शन गरिएको छ।

आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल ल्याइएको हो। आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो। नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्‍याइएको हो।

ट्रफी नेपालमा चार दिन राखिनेछ। नेपालमा रहँदा ट्रफीलाई स्वयम्भूसहित पोखरा र चन्द्रगिरिमा लगिनेछ। पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो।

त्यस्तै आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ। सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिइन।

विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिदैछ। क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो। फुटबलको ट्रफी भने नेपालमा यसअघि नै ल्याइसकिएको छ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको हो।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.