गुल्मी, जेठ १०ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले अस्पताललाई ६० लाख हस्तान्तरण गरेको छ । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले सोमबार गुल्मी अस्पताललाई उक्त रकम हस्तान्तरण गरेको हो ।
अस्पतालका डाक्टर उत्तम पच्यालाई नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल सहितको टोलिले एक कार्यक्रमका बिच उक्त रकम बराबरकाे चेक हस्तान्तरण गरेको हो । पत्रकार महासंघ गुल्मी शाखाले जिल्लामा अक्सिजनको अभाव नहोस भनेर बैशाख २५ गतेदेखी जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सहयोग अभियान संचालन गरेको थियो । सोही सहयोग अभियान मार्फत संकलिन ६० लाखको चेक गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि प्रदान गरिएको हो ।
जिल्लामा बिरामीहरुले अक्सिज नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने अबस्था आउन थालेको भन्दै यस अघि महासंघले पाँच लाख रुपियाँ बराबरको २० वटा ठूला भरिएका अक्सिजन सिलिन्डर अस्पतालाई प्रदान गरिएको थियो ।
जिल्लामा पछिल्लो समयमा संक्रमित बिरामीहरुको संख्या बृद्धि हुँदै गएको सन्दर्भमा सिलिन्डर भर्न लगायत विभिन्न समस्याहरु आउने भएकाले अक्सिज प्लान्ट स्थापना नै उत्तम भएको भन्दै अभियान संचालन गरिएको शाखा अध्यक्ष अर्यालले बताए । देश तथा बिदेशबाट करिब ७० लाख रुपियाँ संकलन भएको नेपाल पत्रकार महासंघ गुल्मी शाखाले जनाएको छ ।
गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेपाल सरकारको एक करोड रुपियाँ विनियोजनन भएको छ । यस्तै जिल्लामा पाँच वेडको आइसियु संचालन गर्नका लागि पनि दुई करोड रुपियाँ विनियोजन भएको छ ।
नेपाल पत्रकार महासंघ गुल्मीबाट प्राप्त रकम र नेपाल सरकारको एक करोड रुपियाँलाई एक मुष्ट राखी निर्माण कार्य अगाडी बढाइने गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए । उक्त चेक ग्रहण गर्दै पच्याले पत्रकार महासंघ गुल्मीले देशमै नमुना कार्य गरेको भन्दै धन्यबाद ब्यक्त गरे । नेपाल पत्रकार महासंघ गुल्मीको अभियानले सार्थकता पाएको भन्दै जति सक्दो छिटो अक्सिजन प्लान्ट स्थापना गर्नका लागि अस्पताल बिकास समिति लाग्ने उनले बताए ।