काठमाडौं, असार १८ः आफ्नै पार्टी भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष बनाएका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पेश गरेको रिटमा गरेको हस्ताक्षर फिर्ता नलिने भएको छ ।
शुक्रबार नेपाल पक्ष अनुपस्थित भई बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन आएलगत्तै नेपाल पक्षले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने बताएको हो । नेपालपक्षका एक नेताले भने, केपी ओलीले निर्देशन दिँदैमा हामी हस्ताक्षर फिर्ता दिँदैनौं ।
त्यस्तै नेपालनिकटकी नेतृ रामकुमारी झाँक्रीले पनि अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नगर्ने स्पष्ट पारेकी छन् । उनले भनिन्–‘बरु, राजनीतिबाट सन्यास लिईन्छ । बरु, आत्महत्या गरिन्छ । हामी हस्ताक्षर फिर्ता लिँदैनौं । हामीबाट राजनीतिमा बेईमानी हुँदैन् । हामीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्नुको कारण सिस्टम बचाउनको लागि हो । संविधान र व्यवस्था बचाउनको लागि हो । त्यसैले केपी ओलीले भन्दैमा हस्ताक्षर फिर्ता लिँदैनौं ।’
शुक्रबारको बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका हुन् ।
आजको केन्द्रीय कमिटी बैठकले देउवाका पक्षमा हस्ताक्षर गर्नेहरूलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नेपालसहित उनी पक्षधर २३ जनाले हस्ताक्षर गरेका छन्।