नेपाल टेलिभिजनमा महाप्रबन्धकको बेथितिः कार्यालय खर्चमा महोत्सवमा रमाए, भत्ता बुझ्दै फर्किए

| 2023 Apr 11 | 05:35 pm 1321

काठमाडौं, चैत २८ः नेपाल टेलिभिजनमा पछिल्लो समय अराजकता र बेथितिले चरम सीमा पार गरेको छ। कर्मचारीहरुले अनुशासनको धज्‍जी उडाउँदै अराजकता निम्त्याएको नेपाल टेलिभिजनकै केही कर्मचारीहरुले बताइरहेका छन्।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, अवैधरुपमा निमित्तको पद धारण गरेका १०औं तहका कर्मचारी आरती चटौत र चिन्तामणी बराल, व्यापार महाशाखाका निर्देशक राजकुमार थापालगायतले प्रेस चौतारी र प्रेस सेन्टर निकट पत्रकारहरुमार्फत अराजकता सिर्जना गरेको नेपाल टेलिभिजनमै कार्यरत सेन्टरनिकट एक कर्मचारीले जानकारी दिएका छन्।

उनका अनुसार यसअघि महाप्रबन्धक बलले आफ्नो स्वार्थ अनुसारका फाइलहरुमात्रै अघि बढाउने गरेका थिए र विभिन्‍न निर्माण तथा खरिदमा पनि निर्माणकर्ता र सप्लायर्सलाई अग्रिम कमिसन माग गरेको विषय पनि बाहिरिएको थियो। स्याटेलाइट भाडाको मुद्दामा कमिसन असुल्दै आएका महाप्रबन्धक बल नेतृत्वको टोलीले पछिल्लो समय स्याटेलाइटको कमिसन आउन बन्द भएपछि निर्माणकर्ता तथा सप्लायर्ससँग कमिसन असुल्‍न लागेको आरोप लाग्‍ने गरेको छ।

यस्तो बेथितिलाई आँखा चिम्लिँदै उनी पछिल्लो समय कार्यालयको खर्चमा भत्ता आउने कार्यक्रममा सहभागी हुन कैलालीको टीकापुर पुगेका छन्। उनले कार्यालयमा चैत २४ देखि २७ सम्म कोहलपुर च्यानल तथा सुदूरपश्‍चिममा बुढीतोला प्रसारण केन्द्र निरीक्षण गर्ने गरी काज बिदा मिलाएका थिए। यसका लागि उनको सबै खर्च कार्यालयले नै व्यहोरेको टेलिभिजनकै कर्मचारीले बताएका छन्।

यसरी टेलिभिजनको कोहलपुर च्यानल र प्रसारण केन्द्र निरीक्षणका लागि भनेर उनी टीकापुर साहित्य महोत्सवमा वक्ता बन्दै भत्ता आउने कार्यक्रममा सहभागी भएका छन्। उनले कार्यालय खर्चमा उक्त च्यानल र प्रसारण केन्द्र निरीक्षण गर्ने भनेर गएपछि त्यहाँको अवस्थाबारे प्रतिवेदन बुझाउनुपर्ने भए पनि उनी उक्त क्षेत्रमा नै नपुगि साहित्य महोत्सवमा सहभागी भएर फर्किएका छन्।

महाप्रबन्धक बलले निरन्तर यसरी अनुशासनहीनता प्रदर्शन गर्दै कार्यालयमा बेथिति निम्त्याउँदा पनि कार्यकारी अध्यक्ष समीरजंग शाहले भने आँखा चिम्लिएका छन्। वर्षको अन्तिमा थुप्रै कामहरु पेन्डिङ राखेर कार्यालय खर्चमा मस्ती गर्दै महोत्सवमा पुगेका बलले अख्तियारको दुरुपयोग गरेका छन्। यसरी निरन्तर अख्तियार दुरुपयोग गर्दा पनि सरोकारवाला मन्त्रलाय सञ्‍चार तथा सूचना प्रविधि मन्त्रलाय भने यस विषयमा बेखबर बनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.