नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालन

रिपोर्ट नेपाल | 2018 Sep 13 | 07:10 pm 2460

रसुवा, भदौ २८ : यही भदौ २५ गतेदेखि अवरुद्ध धुञ्चे–स्याफ्रुबीच खोपाङ भिरको सडकखण्ड सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाका अनुसार भारी वर्षाका कारण पहिरो गई करीब १०० मिटर राजमार्ग सतहमा बसेको ठूलाठूला ढुङ्गा पन्छाइ आजदेखि नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालन गरिएको हो ।

पहिरो पन्छाउन डिभिजन सडक कार्यालयमा रहेका दुई वटा लोडर तथा डोजरले मात्र ठूला ढुङ्गा फ्याँक्ने क्षमता नपुगेका कारण रसुवाबाट प्रतिनिधित्व गर्ने सांसद मोहन आचार्यको सहयोगमा रसु्वा कन्स्ट्रक्सन प्रालिले पठाएको २२० सिसीको स्काभेटरको सहायताले तीन दिनको प्रयासमा सडक खुलाउन सफल भएको प्राविधिकले बताएका छन् ।

उक्त ठाउँमा यही भदौ २ गते ठूलो पहिरो जाँदा भदौ १८ गते सञ्चालन भएको स्थानमा पुनः पहिरो गएको बताउँदै सडक कार्यालयका प्राविधिक अपरेटर निमा लामा र राजेश दाहालले जोखिमयुक्त क्षेत्रमा सतर्क हुन चालकलाई आग्रह गरेका छन् ।

यस वर्ष राजमार्ग पहिरो हटाउन स्वतःस्फुर्तरुपमा स्काभेटर उपलब्ध गराई सहयोग गर्नुहुने रसुवागढी जलविद्युत् आयोजनाका साथै पूर्वसांसद जनार्दन ढकाल र वर्तमान सांसद मोहन आचार्यलाई प्रजिअ कृष्ण पौडेलले धन्यवाद व्यक्त गरे ।

गत साउन ९ गतेदेखि अहिलेसम्म सडक अवरुद्ध भइरहँदा डेढ अर्बभन्दा बढी राजश्व नोक्सान परेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । आज राजमार्ग खुलेलगत्तै २०० भन्दाबढी सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको र बढ्दो सवारी चापको व्यवस्थापनका लागि ठाउँठाउँमा ट्राफिक व्यवस्थापन मजबुद बनाइएको ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.