नेपाल उद्योग वाणिज्य महासङ्घको दस वर्षे मार्गचित्र सार्वजनिक

रिपोर्ट नेपाल | 2021 Apr 11 | 08:04 am 2325

काठमाडौं, चैत २९ः नेपाल उद्योग वाणिज्य महासङ्घको वर्तमान कार्यसमितिले प्रतिबद्धता जनाएअनुसार आर्थिक रूपान्तरणको मार्गचित्र सार्वजनिक गरेको छ ।

मुलुकको आर्थिक समृद्धिका लागि मत्वपूर्ण भूमिका निर्वाह गर्ने निजी क्षेत्रले अबको दस वर्षमा के कस्ता गतिविधिमार्फत थप योगदान र परिणाम निकाल्न सकिन्छ भन्ने लक्ष्यसहित महासङ्घले आफ्नो ५५औँ वार्षिक साधारण सभामा राष्ट्रिय आर्थिक रूपान्तरण–२०३० सार्वजनिक गरेको हो ।

वर्तमान विश्वको आर्थिक गतिवधि नेपालको आवश्यकता र भोलिको अवस्थालाई गहन विश्लेषण गर्दै तयार पारिएको यो रूपान्तरणको खाकाले सन् २०३० सम्ममा नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर बराबरमा पुर्याउने लक्ष्य राखेको छ । त्यस्तैगरी २२ लाख थप रोजगारी सिर्जना र व्यापार घाटा ५० प्रतिशतले घटाउने परिमाणात्मक लक्ष्य यसमा राखिएको छ ।

पूर्वाधार र औद्योगिक विकासमा पर्याप्त लगानी गर्दा वर्तमान ३३ अर्ब डलरको अर्थतन्त्रलाई एक दशकमा तीन गुणा विस्तार गर्ने सपना मार्गचित्रमा राखिएको छ । यो उपलब्धि हासिल गर्न वार्षिक औसत १२ प्रतिशतको वृद्धिदर हासिल गर्नुपर्ने र त्यो सम्भव हुनेसमेत उल्लेख छ । नेपालमा हरेक वर्ष पाँच लाख श्रमयोग्य शक्ति तयार हुने भए पनि दुई लाखले मात्र रोजगारीको अवसर पाउने गर्छन् । रोजगारी उपलब्धताको यो दरलाई हरेक वर्ष दोब्बर गर्न सकिने रूपान्तरणको योजनामा उल्लेख छ ।

संवेदनशील यी मूल लक्ष्य प्राप्तिका लागि महासङ्घले १० वटा प्राथमिकताका क्षेत्र हुने उल्लेख गरेको छ । कोभिडपछिको उत्थान, सुविधाजनक र प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माण अन्तर्राष्ट्रिय व्यापार विस्तार र पूर्वाधार विकासमा खास ध्यान दिएर लगानी गर्नुपर्ने देखाइएको छ । त्यसैगरी जिम्मेवार निजी क्षेत्र, नवप्रवर्तनकारी गतिवधि विस्तार, लगानी प्रवद्र्धन, नीतिगत सुधार, मानव स्रोतको उचित व्यवस्थापन र क्षमता विस्तारलाई मुख्य क्षेत्र मानिएको छ ।

महासङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको तुलनात्मक अध्ययनसमेतका आधारबाट तयार पारेको रूपान्तरणको यो योजनामा सयवटा प्रयासलाई सूचीकृत गरिएको छ । महासङ्घ अध्यक्ष शेखर गोल्छाका अनुसार ४० वटा तत्काल कार्यान्वयनमा ल्याउन सकिन्छ ।

कोरोना महामारीका कारण थलिएका उद्योगको पुनरुत्थानबाट तत्काल सुरु गर्न सकिने देखिएको यो मार्गचित्रमा लगानी तथा उद्यम क्षेत्रका ३३ वटा कानुन तथा नीतिगत व्यवस्थालाई सुधार गर्नुपर्ने देखाइएको छ । त्यस्तैगरी लगानी विस्तारका लागि लगानी प्रवद्र्धन तथा विकास केन्द्रको स्थापना स्वदेशी तथा विदेशी लगानीका लागि छुट्टाछुट्टै मार्गचित्र आउनुपर्ने उल्लेख गरिएको छ ।

उद्यम–व्यवसाय गर्नेले सरकारकै आलोचना गर्ने र आफ्नो खास भूमिकामा चुक्ने गरेको आरोप लाग्ने गरेकामा त्यसलाई चिर्नेगरी निजी क्षेत्रको योगदान पनि किटान गरिएको छ । १० वर्षको यो अवधिमा १०८ अर्ब रुपियाँ थप लगानी गर्न निजी क्षेत्र तयार हुनुपर्नेछ । त्यस्तै राज्यले अख्तियार गरेका दिगो विकास लक्ष्यका लागि लिएका प्रतिबद्धतालाई पूरा गर्ने दायित्वबोध निजी क्षेत्रले पनि लिनुपर्ने औँल्याइएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.