नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने

| 2021 Jun 07 | 07:48 am 2069

काठमाडौँ, जेठ २४ः नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने तयारी थालेको छ । अहिलेसम्म ग्यास बोटलिङ प्लान्टको काम नगरेको निगमले आफ्नै प्लान्ट बनाउन लागेको हो । झापाको चारआली र प्रदेश २ मा ग्यास बोटलिङ प्लान्ट निर्माण गरिने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

त्यस क्रममा परामर्शदाता नियुक्ति गरी प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको निगमले जनाएको छ । उपाध्यायले भने, “झापाको चारआली र प्रदेश २ को जनकपुर वा सर्लाहीमा एलपी ग्यासको बोटलिङ प्लान्टको निर्माण गर्दै छौँ । अहिले डीपीआरअन्तर्गतकै प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको छ । ”

प्राविधिक प्रतिवेदन तयार भइसकेपछि डीपीआर निर्माणको प्रक्रिया अघि बढ्ने जनाइएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ सम्म निर्माण प्रक्रिया थालिने निगमले जनाएको छ । बोटलिङ प्लान्ट आफ्नै जग्गामा बनाइनेछ । प्लान्टका लागि निगमले झापामा पाँच बिघा जग्गा छुट्याएको छ । जनकपुरमा निगमको १० बिघा र सर्लाहीमा २१ बिघा जमिन छ । दुवै स्थानमा पाँच/पाँच हजार मेट्रिक टन क्षमताको बोटलिङ प्लान्ट निर्माण हुनेछन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेटले पेट्रोलियम पदार्थको कारोबारमा विगतकै कार्यक्रमहरूलाई निरन्तरता दिएको छ । पेट्रोलियम पाइपलाइन र ग्यास प्लान्टलाई निरन्तरता दिएको हो । झापाको चारआली र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको निरन्तरता भएको छ ।

नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइनको प्राविधिक प्रतिवेदन तयार गरिसकेको छ । निगमले प्राविधिक कमिटी गठन गरेर प्रतिवेदन तयार गरेको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.