दाङ, माघ १२: भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा दाङ जिल्लाको घोराही व्यारेकमा सञ्चालन गरिएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७६ को आइतबार एक विशेष समारोहकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, आफ्ना सुख दुःखको अनुभवहरु साट्ने, एक आपसमा सामिप्यताको भावना जागृत गराउने, नेपाली सेनाद्वारा संचालित विविध कल्याणकारी कार्यहरुको जानकारी गराई समायानुकुल सुधारको लागी थप राय सुझावहरु संकलन गर्ने उद्देश्यका साथ उक्त सम्मेलनको आयोजना गरिएको बताए ।

उनले अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पुर्याएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताए ।
साथै, सैनिक कल्याणकारीका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित अधिकतम संख्यामा बहालवाला तथा अवकास सैनिक तथा परिवारका सदस्यहरुलाई सुविधा प्रदान गर्ने विविध कल्याणकारी कार्यक्रमहरुको नेपाल सरकारसँग समन्वय र स्विकृती लिई अगाडि बढाइने नीति लिएको बताएका थिए ।
शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार भन्ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा सल्यान, दाङ्ग, प्युठान, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा जिल्लामा बसोबास गर्ने नेपाली सेनाका भूतपूर्व सैनिकहरु तथा परिवारजनहरुको सहभागीता रहेको थियो ।
सम्मेलनकै क्रममा विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पिटी प्रदर्शन गरेका थिए भने भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्ले कार्डसहित मार्चपास प्रदर्शन गरेका थिए ।
नेपाली सेनाको व्यवस्थापन र नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा ६ जिल्लाका ९ सय १२ जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, बहालवाला सैनिक तथा तिनका परिवार र गैर सैनिक व्यक्तिहरु समेत गरी करीब ८ सय ८४ जनालाई स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण गरिएको थियो भने फरक क्षमता भएका भूतपूर्व सैनिक तथा परिवारहरुलाई व्हिल चियर वितरण तथा उल्लेखित ६ जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।
उक्त सम्मेलनमा नेपाली सेनाका रथीवृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, रक्षा मन्त्रालयका प्रतिनिधि, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरु, बहालवाला एवम् अवकास प्राप्त सैनिक तथा परिवारहरु र पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस प्रकारका सम्मेलनमार्फत नेपाली सेनाका बहालवाला तथा अवकास सैनिक तथा परिवारका सदस्यहरु एकै स्थानमा भेला भई आपसी सद्भाव र भाईचारा बढ्ने तथा प्राप्त महत्वपूर्ण राय–सुझावहरुले आगामी दिनहरुमा संचालन हुने कल्याणकारी कार्यक्रमहरूलाई थप सेवामुखी र सहज बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।