नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७८ शुभारम्भ

रिपोर्ट नेपाल | 2022 Mar 23 | 06:34 pm 1985

काठमाडाैं, चैत ९ः नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा भूतपूर्व सैनिक सम्मेलन-२०७८ कार्यक्रम बुधबार प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा दिपायलस्थित श्री नं. ५ बाहिनी अड्‍डामा शुभारम्भ भएको छ ।

कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट दिप प्रज्वलन गरी समुद्‍घाटन भएको यस सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला गरी जम्मा ७  जिल्लाहरुमा बसोबास गर्ने करीब ६ सय ५० जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।

उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरी भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको सर्वपक्षीय समुन्नति र प्रगति, नेपाली सेनाको बलियो आधार स्तम्भ रहेको बताएका थिए । नेपालमै बसेर परिश्रम गरे सफल भईन्छ भन्ने सन्देश दिदै उनले Welfare Vision 2030 अनुरुप हिताधिकारीहरुको असिमित चाहना र आकांक्षाहरुको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको जानकारी गराएका थिए ।

सम्बोधनकै क्रममा उनले, हाल संचालन भईरहेका कल्याणकारी कार्यक्रम तथा सेवा सुविधाहरुका सम्बन्धमा संक्षिप्त जानकारी गराउँदै नेपाली सेनाको श्रोत, साधन र क्षमताले भ्याएसम्म यस किसिमका सेवा सुविधाहरु भविष्यमा थप विस्तार तथा अभिवृद्धि गर्दै लगिने विश्वास समेत दिलाएका थिए ।

उक्त कार्यक्रममा, दिपायल सिलगढी नगरपालिका वडा नं. ५ निवासी जेष्ठ भूतपूर्व सैनिक ८४ वर्षका जमदार लक्षिमन भण्डारी (अ.प्रा.) र श्री कालीजंग गणबाट अवकास प्राप्त स्वर्गीय हुद्धा जय राना (अ.प्रा.) को श्रीमती, के.आई.सिंह नगरपालिका वडा नं. ५ निवासी, ८६ वर्षकी जेष्ठ एकल महिला श्रीमती खिमा देवी रानालाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट उद्यमी व्यवसायीहरुलाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो ।  समारोहमा, ४ वा सो भन्दा बढी
सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने ४ जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्‍त २ जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम एवं महिला उद्यमशिलता कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

भू.पू. सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका सभापतिबाट मन्तव्य एवं बलाध्यक्ष रथी सरोज प्रताप राणाको मन्तव्य सहित समापन भएको उक्त सम्मेलनमा, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त सम्मेलनमा भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको तर्फबाट प्लेकार्ड सहितको मार्चपाष्टलगायत नेपाली सेनाद्वारा स्थान विशेषको झाँकी, संस्कृति झल्किने नांच, खुकुरी ड्रिल, तेक्वान्दो पि.टि., मास पि.टि. र सैनिक व्याण्डको प्रस्तुती प्रदर्शन गरिएको थियो ।

यस सम्मेलनलाई लक्षित गर्दै मिति २०७८ चैत ७ गतेदेखि ९ गतेसम्म नेपाली सेनाका मेडिकल टोलीद्वारा राजपुर ब्यारेक, दिपायलमा स्वास्थ्य शिविर संचालन गरि GOPD, MEDICINE, SURGERY, OBS/GYN, PAEDIATRICS, EYE, ENT, DENTAL, RADIOLOGY, PHARMACY, PATHOLOGY, ORTHOPEDIC लगायतका स्वास्थ्योपचार सेवा प्रदान गर्नुका साथै COVID-19 Vaccine नलगाएकाहरुको हकमा Vaccine को ब्यवस्था गरिएको थियो । यसका साथै, स्वास्थ्य शिविरमा आंखा चेकजाँच गराउँने सहभागीहरुलाई आवश्यकता अनुसार नि:शुल्क चस्मा समेत वितरण गरिएको थियो ।

यस प्रकारको सम्मेलनले अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानित जीवन यापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.