नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले बेद छोएर सपथग्रहण गरे

रिपोर्ट नेपाल | 2019 Jan 14 | 06:06 pm 1699

अमेरिका, पुस ३० :  अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठबाट निर्वाचित नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले विश्वकै ग्रन्थ बेद छोएर सपथग्रहण गरेका छन्। भण्डारीको शपथ ग्रहण जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा भएको थियो।

सांसद भण्डारीले विश्वकै पुरानो ग्रन्थ छोएर सपथ गरेको भवन रहेको स्थान एनापोलिस संयोगवस अमेरिकी ईतिहासकै पुरानो संसद भवन हो। जहाँबाट अमेरिकी संविधान निर्माण प्रक्रिया अनुसार सविधानसभा भवनको रुपमा प्रयोग भएको थियो।

पूर्विय दर्शनको सभ्यता सिकाउने बेद छोएर सपथ खाएका सासंद भण्डारीसंग सम्पर्क गर्दा ‘पश्चिमा सभ्यतामा पूर्विय दर्शनको मिक्स गर्न र मेरो आफ्नो वास्तविक परिचय दिनका लागि वेद छोएर सपथ गरेको बताए। अमेरिकीमा निर्वाचित हरेक तहको संसददेखि राष्ट्रपतिसम्म सबैले बाइबल छोएर सपथ खान्छन, तपाईले बेद छोएर सपथ गर्दा तपाईलाई जिताउने जनताले के भन्लान भन्ने प्रश्नमा भण्डारीले भने, ‘मैले यहाँको जनताको मन जितेकोले आगामी दिनमा काम गरेर देखाउने चुनौति छ तर मेरो व्यक्तिगत स्वतन्त्रतालाई सबैले सम्मान गर्दछन।’

९० दिन चल्ने संसदका लागि भण्डारी यतिखेर एनापोलिसमा सरकारबाट उपलब्ध गराएको पाँच बेडरुमको आवासिय अपार्टमेन्टमा बस्छन्। नागरिकसंगको कुराकानीका क्रममा उनले भने अवको मेरो कार्यकालमा मलाई राज्यले दिने निश्चित सुविधाबाहेक मैले २० डलर भन्दा बढीको उपहार लिनसमेत मलाई कुनै छुट छैन र मैले पाउने ५ जना कर्मचारी मेरो कुनै नातागोता वा सम्बन्धको हुनुहुन्न। संसद चलुन्जेल हरेकले सांसदका लागि राज्यद्धारा व्यवस्था गरिएको अपार्टमेन्टमा बस्नु पर्दछ र कानुन बनाउँदा प्रभाव पर्ने हुनाले कसैको निम्तोमा बाहिर गएर खाए त्यो सांसद कानुनत दोषी ठहर गरिने छ।

सन् १७७२ मा बनेको अमेरिकाकै सवैभन्दा पुरानो संसद भवन हो । सन् १७८३ सेप्टेम्बर २६ देखि सन् १७८४ अगष्ट १३ सम्म अमेरिकको राजधानी रहँदा संसद भवनको रुपमा त्यहि भवन प्रयोगमा आएको थियो । सोही ऐतिहासिक भवनबाट सैनिक प्रमुखबाट राजीनामा दिएर जर्ज वासिंटन अमेरिकी राजनीतिमा होमिएर पहिलो पटक राष्ट्रपति बनेका थिए।

संसद शुरु हुने वित्तिकै भण्डारी सरकार सञ्चालन तथा स्वास्थ्य समिति (हेल्थ एण्ड गभरमेन्ट अपरेशन) समितिको सदस्यमा नियुक्त भएका छन्। यो समितिले मेरिल्याण्ड राज्य सरकारको सञ्चालनको विभिन्न पाटाहरु तथा नागरिकको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य सम्वन्धि कानून तर्जुमा र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। हाउसमा पाँच वटा मुख्य कमिटीहरु हुन्छन्। त्यसमध्ये यो कमिटी मुख्य मानिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.