नेपाली महिला टोलीको लगातार दोस्रो जित

रिपोर्ट नेपाल | 2019 Jan 13 | 02:37 pm 1054

एजेन्सी, पुस २९ : थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी –ट्वान्टी स्म्यास क्रिकेटमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।

तेर्थाई क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले दिएको ६२ रनको लक्ष्य १६ दशमलव २ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि रोमा थापाले सर्वाधिक २० रनको योगदान दिंदै जितसम्म डोर्याइन । उनले २४ बलको सामना गर्दै १ चौका प्रहार गरिन् । त्यस्तै सिता रानामगरले १६ रनको योगदान गरिन।

इन्दु वर्माले ३ रन जोडिन् भने सरिता मगरले खाता नखोल्दै रनआउट भइन् । ममता कुमारी चौधरी ९ रन जोड्न सफल भइन् । मलेसियाका लागि इन्तान जफार र ऐना हसिमले १-१ विकेट हात पारे ।

मलेसियाको इनिङलाई सस्तैमा समेटन सरिता राना मगर एक्लैले ४ विकेट लिईन्। त्यस्तै कविता कुँवर, इन्दु बर्मा र नेरी थापाले समान एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रनमा समेटियो। मलेसियाका लागि सर्वाधिक १२ रन सियो तिजिनले बनाउँदा युर्सरिना याकुबले ११ रनको योगदान गरिन। ती बाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा शनिबार चीनलाई १० विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको थियो । प्रतियोगिताको समूह ए मा रहेको नेपालले तेस्रो खेलमा भोली युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.