काठमाडौं, साउन १२: प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताएका छन्।
उनले भने, “हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौँ । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौँ ।”
नेपाल ट्रेड यूनियन महासंघ र अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले शनिबार संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले नेकपाको सरकार गठन भएको पाँच महिना मात्रै भएको भए पनि यही अवधिमा नै सबै बिगारेको जसरी प्रचार गरिएकामा आपत्ति प्रकट गरे।
“हाम्रो सरकार गठन भएको पाँच महिना भयो, भ्रष्टाचार बढेको, सुशासन नभएको, काठमाडौँका सडकमा खाल्डा यही सरकारले पारेको भने जसरी प्रचार भएको छ। विगतमा मुलुकलाई लुटपाट गर्नेले नै कोकोहोलो मच्चाएका छन्”, प्रधानमन्त्रीले भने, “यही पाँच महिनामा नेपाली जनतालाई हामीले गरीब बनाएको होइन, काठमाडौँको सडकमा खाल्डो पारेको पनि होइन । तर हामी गरिब नेपालीलाई समृद्ध बनाउँछौं र आगामी दुई वर्षभित्र काठमाडौँका सबै सडक हेर्न लायक बनाउँछौ ।”
उनले नेपालको पुरानो कलात्मकता, ऐतिहासिक धरोहरलाई जोगाएर आधुनिकता मिसाएर अगाडि बढाउने दृढता व्यक्त गर्दै धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सम्पदाको पुनः निर्माण शुरु गरिने बताए।
‘मै बनाउँछु मेरो धरहरा’ भनेर आफूले दुईवर्ष पहिले शुरु गरेको अभियान जहाँ छोडेको त्यस्तै अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले भने, “अब शीघ्र धरहराको पुनःनिर्माण हुन्छ। धाँजा फाटेको रानीपोखरीसमेत बन्छ।” शिलान्याश गरेर छाडेको धरहरा र रानीपोखरी पुनःनिर्माणमा सरकारले क्रमिक रुपमा काम शुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, “अब बन्छन् यी दुई वटै ऐतिहासिक सम्पदा। कुनै ढिलाइ गरिँदैन । काष्ठमण्डप ज्यूँका त्यूँ हुन्छ ।”
दुगर्मस्थानमा रहेका असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्न भन्दै प्रधानमन्त्रीले सेवा सुविधा पुर्याउनै नसकिने ठाउँलाई एकीकृत बस्तीका रुपमा परिणत गर्ने सोचमा सरकार रहेको स्पष्ट पारे। अनुगमन र नियन्त्रण गर्न केही समय लाग्ने भए पनि अनावश्यक रुपमा सरकारको आलोचना गरेर कोकोहोलो मच्चाइएको भन्दै प्रधानमन्त्रीले आपत्ति प्रकट गरे।
प्रधानमन्त्रीले नेपालमा भित्र्याइने रकम बैंकिङ प्रणालीबाट मात्रै आउनुपर्नेमा जोड दिँदै गैरकानूनी तवरले कुनै पनि रकम ल्याउन नदिइने बताए । उनले भने, “हुन्डी, कालोधन, गैरकानूनी चलखेल गर्न पाइदैन । सरकार त्यस्तो गतिविधिलाई सहदैन । अनियन्त्रित, गैरकानूनी कालोधन गुप्त बाटोबाट नेपालमा आउन पाउँदैन ।”