नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

| 2018 Aug 06 | 06:31 am 1827

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) स्वदेश फर्किने भएको छ। लन्डनको लर्डस्मा भएको क्रिकोणात्मक ट्वेन्टी-ट्वेन्टी सिरीज र नेदरल्यान्ड्‍ससँगको एक दिवसीय क्रिकेट सिरिज पछि नेपाली टोली घर फर्किन लागेका हो।

टोली सोमबार बिहान ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने बताइएको छ। नेपालले लन्डनको लर्डस्मा जुलाई २९ तारीख त्रिकोणात्मक ट्वेण्टी-ट्वेण्टी शृंखला खेलेको थियो। जसमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग ९ विकेटले जित हात पारेको थियो भने नेदरल्याण्ड्ससँगको खेलमा बर्षका कारण खेल रोकिए पछि दुबै टोलीले एक–एक अंक बाँडेका थिए।

त्यसपछि अगस्ट १ र ३ तारीखमा ऐतिहासिक एक दिवसीय क्रिकेट सिरीज खेल्न नेपाल नेदरल्यान्डस् पुगेको थियो। नेदरल्यान्डस्सँगको ऐतिहासिक एक दिवसीय क्रिकेट सिरीजमा नेपालले एक एकको बराबरी खेलेको थियो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने १ रन ले विजय भएको थियो । ऐतिहासिक एक दिवसीय क्रिकेट सिरीजको दोस्रो खेल जित्दै नेपालले एक दिवसीय क्रिकेटमा सुखद शुरुवात गरेको छ।

ऋब नेपालले अगष्टको २९ देखी मलेसियामा एसिया कप क्रिकेटको छनोटको खेल खेल्ने छ। पहिलो खेल नेपालले ओमानसँग अगष्ट २९ मा बायोमास ओभलमा खेल्नेछ। अगस्ट ३० मा नेपालले आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएईं) को सामना गर्नेछ। सेप्टेम्बर १ मा नेपालले आयोजक मलेसियासँग, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ मा हङकङसँग खेल्नेछ। ६ राष्ट्र सम्मिलित छनोट खेल सेप्टम्बर ७ सम्म चल्नेछ।

राउण्ड रोबिन लिगको आधारमा हुने छनोट विजेताले युएईंमा हुने एसिया कप स्थान बनाउनेछ। मलेसियामा हुने छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ‘ए’ मा पर्नेछ। उक्त समूहमा भारत र पाकिस्तान रहेको छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.