गुल्मी, असोज १३ । नेपाली कांग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले निर्वाचनका समयमा गरेका सबै बाचा पाँच वर्ष भित्र पुरा गर्ने बताएका छन ।
सभापति पन्थीले नेपाली कांग्रेस गुल्मी दरबार गाँउपालिकाको प्रथम सम्मेलनको उद्घाटन गर्दै निर्वाचित जनप्रतिनिधिका कारण कार्यकर्ताको शिर निहुरीन नदिने बताएका थिए।
निर्वाचनमा बोलिएका कुरा धेरै पुरा भइसकेका र हुँदै पनि छन तर यतिमै सिमित नभएर सोचिए भन्दा बढ्ता कार्य गरेर कार्यकर्ताले शिर उच्च बनाएर हिड्न सक्ने बनाउने कुरा पनि पन्थीले बताएका थिए। प्रथम सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य मोती भण्डारीले गाँउको युवा शक्ति विदेशिएका कारण अहिले गाँउ युवा विहिन भएकोले पालिकाहरूले युवा केन्द्रीत कार्यक्रम ल्याएर गाँउमै बस्ने वातावरण बनाउन आवश्यक रहेको बताएका थिए। नेता भण्डारीले यहि किसिमले युवा वैदेशिक रोजगारीमा जाने क्रम नरोकिने हो भने गाँउमा मलामि जाने मान्छे पनि नहुने भन्दै चिन्ता व्यक्त गरेका थिए।
नेपाली कांग्रेस गुल्मी दरवार गाँउपालिकाका अध्यक्ष प्रेम पुनको सभापतित्वमा सम्पन्न सम्मेलनमा लुम्बिनी प्रदेश सदस्य छन्द बहादुर पहराई, नेपाली कांग्रेस गुल्मीका उपसभापति अनन्त पौडेल, सचिव जगदीश भट्टराई जिल्ला समन्वय समितिका समापति दोर्ण खत्री पालिकाका अध्यक्ष सरोज सिंह थापा लगाएतका वक्ताले पार्टीको संगठन बलियो बनाउन लाग्ने प्रण गर्दै सम्मेलनको सफलताको शुभ कामना व्यक्त गरेका थिए।
