काठमाडौँ, १२ चैत : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको प्रथम बैठक सम्पन्न भएको छ । समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङ्गदम्वेको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरेको छ ।
समितिको बैठकले पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै पनि काम, कारवाई र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाई र गतिविधिका विरुद्धमा प्रमाण सहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानवीन गरी निर्णय गरेको छ ।
बैठकका विषयमा मंगलबार प्रेस वक्तव्य सावृजनिक गर्दै समितिले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरितका काम, कारवाई र गतिविधिहरु लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जाल मार्फत सार्वजनीक रुपमा प्रकट गरेमा त्यस्ता काम, कारवाई र गतिविधिहरु पार्टी विधान र नियमावली बमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकोले त्यस किसिमका गतिविधिहरु नगर्न अनुरोध समेत गरेको छ ।