काठमाडौं, साउन १ – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए लाई १ सय ६८ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ रोजेको नेपालले ३९ ओभर २ बलमा १ सय ६७ रन बनाई अलआउट भयो । खेल श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा भइरहेको छ ।
नेपालका लागि कप्तान रोहित पौडेलले ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले आजको खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, सोमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशोर महतो २ रनमा नटआउट रहे ।
भारत ए का तर्फबाट बलिङ गरेका निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिए । आइपिएलमा खेल्ने खेलाडीहरुले भरिएकाे भारत ए सँग खेलेर नेपालले जित निकाल्न नसके पनि अनुभव लिएर आगामी खेलमा सुधार गर्ने अवसर मिल्ने छ ।