नेपालले पाकिस्तानसँगको सम्बन्धलाई उच्च महत्व दिएको परराष्ट्रमन्त्रीको भनाई

| 2018 Aug 15 | 07:47 am 1502

पाकिस्तानसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको धारणा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गरेका छन् । नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन दुवै देश क्रियाशील रहेका उनको भनाई छ ।

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले मंगलबार साँझ राजधानीमा आयोजना गरेको स्वागत समारोहमा उनले नेपाली र पाकिस्तानी जनताको हितमा दुवै देशले निरन्तर काम गरिरहेका बताए ।

द्विपक्षीय आर्थिक साझेदारी र सहकार्यलाई अझ घनिभूत तुल्याउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने वास्तविकता औँल्याउँदै उनले व्यापारिक सम्बन्ध बढाउन स्थापना भएका संयन्त्रलाई पुनः जीवन दिनुपर्नेमा जोड दिए ।

उनले भने, “शान्त, स्थिर र समृद्ध दक्षिण एशिया हामी सबैको चाहना हो, साझा मञ्चका रुपमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)ले यो भेगको समृद्धिका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ त्यसैले सार्कलाई पुनः जीवन दिनुपर्छ ।”

सार्कको अध्यक्षका नाताले ऐक्यबद्धता, सहयोग साझेदारीको भावनाअनुसार नेपालले सदस्य देशसँग निकट सम्पर्कमा रहेर काम गरिरहेको पनि मन्त्री ज्ञवालीले बताए ।

कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जवराले क्रिकेटबाट पाकिस्तानलाई चिनाएका विश्व प्रख्यात खेलाडी इमरान खानको नेतृत्वमा निकट भविष्यमा बन्ने पाकिस्तान सरकार र नेपाल सरकारबीच पारस्परिक सहयोगका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गर्दै सार्कलाई पुनः जीवन दिनु अहिलेको आवश्यकता हो भन्ने धारणा व्यक्त गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले क्षेत्रीय सहयोग र विकासका लागि प्रभावकारी एवं सक्रिय भूमिका निर्वाह गर्नुपर्छ भन्ने पक्षमा पाकिस्तान रहेको बताउँदै पाकिस्तान–नेपाल सम्बन्धसँग सम्बन्धित सबै सरकारी संयन्त्रलाई क्रियाशील तुल्याउन आफू प्रतिबद्ध रहेको स्पष्ट गरेका थिए ।

सङ्घका अध्यक्ष हिमालयशम्शेर जवराको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र महासचिव मञ्जुरत्न शाक्यले पाकिस्तानी सरकार र जनताको प्रगति एवं समृद्धिको कामना गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.