काठमाडौं, साउन १८: एकदिवसीय क्रिकेटको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको लक्ष्य दिएको छ । नेपालले ४८ ओभर ५ बलमा २ सय १६ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
खराब सुरुवात गरेको नेपालका लागि सोमपाल कामीको उत्कृष्ट ब्याटिङ गरे। टस जितेर ब्याटिङ गरेको नेपालका लागि सोमपालले सर्वाधिक ६१ रन बनाए। उनले ४६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ६१ रन जोडेका हुन्। त्यसैगरी नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पूरा गरे। खड्काले ६९ बलमा दुई छक्का ६ चौकाको मद्दतमा ५१ रन बनाएका हुन्।
उपकप्तान ज्ञानेन्द्र मल्ल ४२ बलमा १३ रन बनाएर आउट भए भने सुवास खकुरेल ३३ बलमा १९ रन बनाएर आउट भए। अनिल शाह ६ बलमा चार रन जोड्दै आउट हुँदा दीपेन्द्रसिंह ऐरी १७ बलमा १९ रन बनाएर आउट भए।
रोहित पौडेलले १५ बलमा ६ रन बनाए भने आरिफ शेखले ४६ बलमा १६ रनमात्र जोडे। बसन्त रेग्मीले ९ बलमा एक रन जोडे भने सन्दीप लामिछानेले २२ बलमा ८ रन मात्र बनाएर अन्तिम विकेटको रुपमा आउट भए। नेपालले ४८।५ बलमा अन्तिम विकेट गुमाउँदा नेपालले २१६ रन बनाएको हो।
अघिल्लो खेल नेदरल्यान्ड्सले जितेकाले यो खेल जित्नैपर्ने दबामा नेपालमाथि छ। अघिल्लो खेलमा पराजित भएको नेपाल दुई खेलको शृङ्खलामा १ ० ले पछाडि छ।