नेपालमै पहिलोपटक ह्याकर सम्मेलन हुँदै

रिपोर्ट नेपाल | 2018 Nov 20 | 11:03 am 1900

काठमाडौं, मंसिर ४: नेपालमा पहिलो अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुने भएको छ। राजधानीको होटल अन्‍नपूर्णमा मंसिर २२ र २३ गते आयोजना हुने उक्त सम्मेलन विश्‍वमै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालीन सम्मेलन हुन लागेको हो।

सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्था एसआइसीटी नेपाल र साइबर सुरक्षामा काम गर्दै आएको थ्रेट निक्सले आयोजना गरेको हो। सम्मेलनमा क्यान महासङ्घ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स जस्ता संस्थाका सहकार्य रहेको छ।

पछिल्लो समय व्यक्तिगत तथा पब्लिक डोमेन, ठूला किसिमका फाइनान्सियल अट्याक जस्ता साइबर सुरक्षाका चुनौती, साइबर हमलामा संलग्न व्यक्ति लागि नेपाल केन्द्रमा परिसकेकाले उक्त सम्‍मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ।

सम्‍मेलनमा साइबर हमलाका आधुनिक र व्यवस्थित सुरक्षाको लागि तयारी साथै यसका लागि साइबर सुरक्षाको विकास र दक्ष व्यावसायिक जनशक्ति
कसरी उत्पादन गर्ने भन्‍नेबारेमा छलफल हुने बताइएको छ।

सम्मेलनमा साइबर सुरक्षामा विश्वव्यापी रुपमै चर्चित अभ्यासकर्ता, निर्माताको सहभागिता रहनेछ जसमा सरकारी निकायलाई साईबर सुरक्षाको बारेमा जानकारी लिन यो उपयोगी साबित हुनेछ।

सम्मेलनमा विश्व प्रसिद्ध ह्याकर म्याट सुसी प्रमुख वक्ताको रुपमा रहनेछन्। यसबाहेक साइबर सुरक्षासँग सम्बन्धित अन्तरक्रिया हुने छ। सम्मेलनको आकर्षणको रुपमा लाइभ ह्याकिङ समेत रहनेछ।

अमेरिका, रसिया, रोमानिया, भारत, जर्मनी, दुबईबाट विज्ञहरुको सहभागिता रहने सम्मेलनमा गुगल, क्यास्परस्की, बिटडिफेन्डरजस्ता संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.