नेपालमा सिमेन्ट उद्योग फस्टाउँदै गए पनि अझै परनिर्भर

| 2021 May 22 | 08:26 am 3641

काठमाडौं, जेठ ८: नेपालमा सिमेन्ट उद्योग फस्टाउँदै गए पनि अझै परनिर्भर छ। पछिल्लो एक दशकमा सिमेन्ट उत्पादनमा  मुलुकले छलाङ  मारे पनि आत्मनिर्भर हुन नसकेको हो।  नेपालमा ५५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन्। कतिपय दर्ता भएर पनि सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा रहेका उद्योग उद्योग पूर्ण क्षमतामा उत्पादन हुन नसक्दा आयातमै निर्भर हुनु परेको हो।

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार १५ लाख ६० हजार मेट्रिकटन सिमेन्ट विदेशबाट आयात भइरहेको छ। यसअघि नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्टमा देश आत्मनिर्भर भइसकेको दाबी गर्दै आएको थियो। नेपाललाई चाहिनेभन्दा बढी सिमेन्ट उत्पादन गर्न सकिने उद्योगको क्षमता रहे पनि झन्डै आधा क्षमतामा मात्रै सिमेन्ट उत्पादन भइरहेको छ। जसले गर्दा पूर्वाधार निर्माण गर्दा स्वदेशको उत्पादनले नपुगी विदेशबाट सिमेन्ट आयात गरिरहनुपरेको छ।

राष्ट्र बैंकले प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, स्वदेशी माग र आपूर्तिलगायत ती उद्योगहरूको सामाजिक तथा आर्थिक प्रभावको विषयमा अध्ययन गरेको थियो।  राष्ट्र बैंकको अध्ययनअनुसार अहिले नेपालमा वार्षिक ९० लाख ५० हजार मेट्रिकटन आवश्यक पर्छ। मुलुक पूर्वाधार उन्मुख भएकाले सिमेन्टको माग बढ्दै जाने देखिन्छ। हाल सञ्चालित ५५ उद्योगको सञ्चालन क्षमता १ करोड ५० लाख मेट्रिकटन छ। तर उद्योगहरूले ७४ लाख ९० हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्छन्।

अध्ययनअनुसार प्रत्यक्ष वैदेशिक लगानी भएका सिमेन्ट उद्योगको ४५.८१ प्रतिशत, सरकारी उद्योगको ५०.१२ र निजी क्षेत्रबाट सञ्चालित उद्योगहरूको ६३.७८ प्रतिशत  औसत क्षमता उपयोग भएको छ। कसैले पनि पूर्ण क्षमतामा सञ्चालनमा गर्न नसके पनि विदेशी लगानीमा सञ्चालित उद्योगको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ। ती उद्योगको सञ्चालन र मुनाफा पनि राम्रो छ।

करिब डेढ दशकअघि निजी क्षेत्रको लगानीमा खुलेका उद्योगका कारण देश सिमेन्टमा आत्मनिर्भर नजिक भएको हो। पछिल्लो समय उद्योगीले सिमेन्ट उत्पादनको क्षमता बढाउँदै गएका छन्। सञ्चालित उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न सक्दा मात्रै पनि देश सिमेन्टमा आत्मनिर्भर हुनुका साथै निर्यात गर्न सकिन्छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.