काठमाडौ, असार १५: सरकारले देशभर वृक्षरोपण अभियान सञ्चालन गरिरहँदा नेपालमा रोपिने लाखौं बिरुवा विदेशबाट आयात हुने गरेको पाइएको छ । विडम्बना भन्नुपर्छ, देशमा नर्सरी व्यवस्था नहुँदा बिरुवामा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा १ करोड ९२ लाख ३१ हजार बिरुवा खरिद गर्न र वृक्षरोपणका लागि विभागले १५ करोड ४८ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७४/०७५ मा मात्रै ७ करोड रुपैयाँको बिरुवा विदेशबाट ल्याएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा २७ लाख ९८ हजारभन्दा बढी बिरुवा आयात गरिएको थियो, जसको मूल्य १० करोड ५५ लाख छ ।
हरेक वर्ष लाखौं बिरुवा आयात गर्नुपर्ने अवस्था छ । मुलुकभित्रै उचित नर्सरी व्यवस्था नगरी वृक्षरोपण कार्यक्रम प्रभावकारी बनाउन मुस्किल हुने यही तथ्यले देखाउँछ । ट्री, सर्ब, बुसेस, काटिएको, नकाटिएकोलगायत विभिन्न शीर्षकमा ८६ हजार ९२ लाख बिरुवा आयात गरिएको छ, जसको मूल्य १ करोड ६३ लाख पर्छ ।
त्यस्तै, ‘लाइभ प्लान्ट’ भनेर ८ करोड ९१ लाख रुपैयाँ तिरी २७ लाख ११ हजारभन्दा बढी बिरुवा आयात गरिएको तथ्यांकमा छ । हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि सारेको हो । प्रधानमन्त्री केपी ओलीले गत वर्ष ५ जुनदेखि नै ‘एक नेपाली एक फलफूल’का बिरुवा रोप्ने अभियान थालेका थिए । राजधानी दैनिकमा प्रकाशित