काठमाडाैं, भदाै १०ः विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै शुरुवाती चरणमा रहेको र स्थिती अझ भयावह हुने बताएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको साक्षात्कारमा उक्त कुरा बताएका हुन् ।
भ्यानडिलिएरले आफूहरुको अध्ययनले नेपालमा परिस्थिति अझै नराम्रो हुनसक्ने देखाएको बताए । उनले यो सुरुवात मात्र भएको भन्दै अरु निकै केसहरु बढ्ने अवस्था रहेको र आगामी दिनहरुमा परिस्थिति जटिल बन्ने बताए ।
उनले नेपालमा अझै संक्रमितको संख्या वृद्धि भई जटिल परिस्थिति आउने बताउदै नेपालमा शुरुका दिनमा विदेशबाट आएका व्यक्तिबाट संक्रमण देखिएको तर अहिले ज्येष्ठ नागरिक, युवा, बालबालिकालाई समेत संक्रमण फैलिसकेको बताए।
उनले यस्तो समयमा स्वास्थ्य सेवा पहुँचलाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मी तथा अस्पतालहरुको भूमिका पर्याप्त हुन नसक्नु प्रमुख चुनौती रहेको समेत बताए । भेन्डिलियरले नेपालमा अधिकांश अस्पताल कोरोनामा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा प्रभावित भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
आम नेपाली लगायत नेपालमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरुले अनिवार्यरुपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरीको कायम, बेलाबेलामा साबुनपानीले हात धुनेलगायतका सुरक्षाका उपाय अपनाउन सचेत गराए।
कोभिड १९ विरुद्धको लडाईंमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने भ्यानडिलिएरको सुझाव थियो । उनले सरकारले मात्रै नसक्ने भएकाले सबैपक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । प्रदेश र स्थानीय सरकारको भूमिका पनि प्रभावकारी रुपमा हुनुपर्ने उनको थप सुझाव थियो । कोरोना संकटमा विश्व स्वास्थ्य संगठनले नेपाललाई निरन्तर सहयोग गरिरहने उनले आश्वासन दिए ।