ललितपुर, चैत १२: विज्ञले नेपालमा कुल जनसंख्याको आधा हिस्सालाई सुषुप्त अवस्थाको (लक्षणबिनाको) क्षयरोग (टीबी) हुन सक्ने बताएका छन्। विश्व क्षयरोग दिवसका अवसरमा बुधबार जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिइएको हो। क्षयरोगसम्बन्धी काम गर्दै आएका गौरीशंकर जोशीले सुषुप्त खालको क्षयरोग कुनै पनि समय सक्रिय हुन सक्ने बताए।
जोशीका अनुसार प्रतिरोधात्मक क्षमता कमजोर भएका बेला क्षयरोगका कीटाणु सक्रिय हुन थाल्छन्। क्षयरोग लागेर प्रत्येक दिन औसतमा ४६ जनाको मृत्यु भइरहेकाले सामान्य नठान्न जोशीले आग्रह गरे। एक जना क्षयरोगीबाट कम्तीमा १५ जनालाई सर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए।
स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारीअनुसार क्षयरोगका कुल बिरामीमध्ये १३ प्रतिशत उपत्यकामा छन्। हिमाली क्षेत्रमा ३ प्रतिशत, पहाडमा २५ र अन्य तराईका जिल्लामा बिरामीको संख्या धेरै देखिएको छ। उपत्यकाको जनघनत्व धेरै भएकाले १३ प्रतिशतबाट धेरैमा सर्न सक्ने जोखिम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट