काठमाडौँ, जेठ १७ः नेपालका तेल उत्पादन उद्योगीहरूले कच्चा तेल (क्रुड आयल) को भन्सार वृद्धि गरेसँगै नेपालमा उत्पादित सबै प्रकारका प्रशोधित तेल महँगो हुने बताएका छन् ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत बजेटमा कच्चा तेलको भन्सार १० प्रतिशत प-याउने निर्णयसँगै नेपालमा उत्पादित प्रशोधित तेलको भाउ महँगो हुने भएको हो । नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घका अध्यक्ष सन्दीप अग्रवालले सरकारको बजेटबाट स्वदेशमा सञ्चालित तेल उद्योग बन्द गर्नुपर्ने अवस्था रहेकाले यस विषयमा पुनर्विचार गर्न आग्रह गरे। बजेटमार्फत ल्याइएको नीतिले भारतबाट अवैध बाटो हुँदै आउने तेललाई अझै प्रोत्साहन हुने क्रम बढ्ने उनको दाबी छ । नयाँ व्यवस्थाले प्रशोधित तेल प्रतिलिटर १५ रुपियाँसम्म महँगो हुने प्रक्षेपण गरिएको छ ।
चालु आर्थिक वर्षमा कच्चा तेलको आयातमा भन्सार महसुल एक प्रतिशत लाग्दै आएको थियो । अर्थमन्त्री डा महतले आगामी आवको बजेटमार्फत भन्सार महसुल १० प्रतिशत पु-याएसँगै नेपालमा उत्पादित प्रशोधित तेल महँगो हुने भएको हो ।
सङ्घका अध्यक्ष अग्रवालले खाने तेल अति आवश्यक उपभोग्य वस्तुमा पर्ने भएकाले यसको कच्चा पदार्थमा भन्सार बढ्नेबित्तिकै उद्योगदेखि सर्वसाधारणको भान्छासम्म असर पर्ने बताए ।
तेल उत्पादक सङ्घले अवैध रूपमा भित्रिने तोरीको तेलका कारण स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै तत्काल यस्तो गतिविधि रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग माग गरेको थियो । नेपालमा तेल उद्योगलाई बचाउनका लागि सरकारले तत्काल चोरी पैठारी भित्रिने क्रमलाई नियन्त्रण गर्ने र हाल स्वदेशी उद्योगलाई लगाउँदै आएको १३ प्रतिशत कर खारेज गर्न माग गर्दै आएका छन् । भारतमा कृषि उत्पादनमा मल, बिउलगायतका क्षेत्रमा सहुलियत र तोरी तेलमा भ्याट नलाग्ने भएकाले भारतीय तोरीको तेल नेपाली तोरीको तेलभन्दा लगभग २५ प्रतिशत सस्तोमा बिक्री भइरहेको छ । गाेरखापत्र अनलाइनबाट