नेपालगंज, असोज २३ । दुई समुदायबीच उत्पन्न असहज परिस्थिति उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु र निषोधाज्ञा पूर्ण रुपमा हटाएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले कर्फ्यु र निषेधाज्ञा मंगलबार बिहान ४ बजेदेखी लागु हुने गरी पूर्ण रुपमा हटाइएको जानकारी दिए। स्थानीय प्रशासनले यही असोज १६ गते दिउँसो १ बजेदेखी कर्फ्यु जारी गरेको थियो। त्यसपछि जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले निषेधाज्ञा मात्र जारी गरेको थियो। नेपालगंजमा उत्पन्न विषम परिस्थितिमा समेत धैर्यताका साथ कर्फ्यु र निषेधाज्ञाको आदेश पालना गर्ने आम सर्वसाधारण, समन्वय र सहयोग गर्ने धर्म गुरुहरु, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा शान्ति सुरक्षामा रातदिन खटिने सुरक्षाकर्मी लगायत सबैमा प्रशासनले आभार ब्यक्त गरेको छ।
