नेपालको हवाई क्षेत्र कालोसूचीबाट हट्दै

| 2018 Jun 24 | 09:53 am 4566

काठमाडौँ,असार १० :  युरोपेली संघ (इयू) को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र उक्त सूचीबाट हट्ने भएको छ । पाँच बर्ष अगाडी इयूले नेपालको हवाई उड्डयन क्षेत्रलाई कालो सूचिमा राखेको थियो ।

इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको हो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।

नेपाल आइकाओको गम्भीर सुरक्षा सूचीमा परेलगत्तै इयूले पनि नेपाललाई उडान सुरक्षामा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द अधिकारीले यही शुक्रबार ( असार ८ गते) प्रतिनिधिसभा बैठकमा उडानसम्बन्धी समसामयिक विषयमा उठाइएका जिज्ञासालाई सम्बोधन गर्ने क्रममा नेपालको हवाई क्षेत्र इयूको खतरासूचीबाट छिट्टै हटाउन पहल गरिरहेको जनाएका थिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपालको वायुसेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउँदै अबको तीन महिनाभित्र इयूको कालोसूचीबाट पनि हट्ने मन्त्री अधिकारीले विश्वास व्यक्त गरेका थिए ।

सुरक्षा चासो देखाएको इयूले नेपाली वायु यानलाई युरोपका आकासमा उड्न प्रतिबन्द लगाएको थियो । आइकाओको उडान सुरक्षा अडिटको नतिजापश्चात् नेपाल सरकारले इयूलाई नेपाली वायुसेवालाई उक्त सूचीबाट हटाउन आग्रह गरिसकेको छ ।

पर्यटनमन्त्री अधिकारीले इयूको कालोसूचीबाट हटाउनका लागि प्राविधिक तथा कूटनीतिकस्तरमा भएको पहलबाट इयूको प्राविधिक समूह आगामी सेप्टेम्बरमा नेपाल आउने जानकारी प्राप्त भएको बताए ।
पर्यटनमन्त्री अधिकारी आइकाओको कार्यक्रममा सहभागी हुन एकसाता अघि आइकाओ मुख्यालय मन्ट्रिल क्यानाडा गएका थिए ।
इयूको एयर सेफ्टी सूचीमा रहेसम्म नेपालका कुनै पनि वायुयानले युरोपका आकासमा उडान गर्न पाउँदैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चाँडै नेपाल भित्र्याउन लागेको दुई वाइडबडी विमानमार्फत जापानलगायत युरोपका गन्तव्यमा उडान भर्ने योजना छ । तर, इयूको कालोसूचीबाट नहटेसम्म निगमले जापान गन्तव्यमा उडान भर्न नसक्ने निश्चित छ ।
उडान सुरक्षाको क्षेत्रमा आइकाओबाट औँल्याइएको गम्भीर कमीकमजोरीलाई निराकरण गर्न नेपालले गरेका अथक प्रयासका कारण गत ४–११ जुलाई २०१७ मा सम्पन्न उडान सुरक्षा सम्परीक्षण अडिटपश्चात नेपाल गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.