काठमाडौं, भदौ १६: मलेसियामा जारी एसीसी एसिया कप छनोट क्रिकेट खेलमा नेपालले मलेसियालार्इ १९ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
बायुमास ओभलमा वर्षाले प्रभावित भएपछि ढिला गरी शुरु भएको खेलमा नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।
नेपालले दिएकाे लक्ष्य भेट्ने क्रममा मलेसिया १६९ रनमा अल अाउट भएपछि नेपाल १९ रनले विजयी भएकाे हाे। यसअघिका आफ्ना दुई खेल गुमाएको नेपालले एसिया कप छनोटमा आफ्नो आशा जिवित राख्न मलिसियालाई जित्नै पर्ने दबाबमा थियो।
मलेसियाका लागि अनवार अरुदीन र साईद अजाजले सर्वाधिक समान ३४\३४ रन बनाएका थिए । नेपालका सोमपाल कामी, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २\२ विकेट लिएका थिए ।
सुरुवातमा नेपालका ब्याट्सम्यानले निकै खराब ब्याटिङ गरेका थिए। ६०/५ को अवस्थाबाट दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ८७ बलमा १०१ रनको साझेदारी गरेपछि नेपालले उच्च स्कोर बनाउन सकेको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६४ रन बनाएका थिए।
४८ बल खेलेका आरिफले ५ चौका र २ छक्का प्रहार गरेका थिए। दीपेन्द्र ऐरीले ५१ बलमा ५४ रन प्रहार गरेका थिए। नेपालका लागि अनील शाह १६, पारस खड्काले १३, सुवास खकुरेलल ९, ज्ञानेन्द्र मल्ल ११ र वसन्त रेग्मीले ६ रनको योगदान गरेका थिए।