काठमाडौं, बैशाख १५ः नेपालमा वित्तीय सहकारी संस्थाले तरलताको चुनौती सामना गरिरहेको समयमा कृषि सहकारी केन्द्रीय संघले भने संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) अवार्ड २०२३ प्राप्त गर्न सफल भएको छ ।
नेपालको कृषि सहकारी केन्द्रीय संघ कृषि खाद्य प्रणाली परिवर्तनका लागि योगदान दिने विश्वकै उत्कृष्ट संस्था बनेको हो । दोस्रो स्थानमा भने लेबनानको अल सौफ सेडर सोसाइटी रहेको छ । यी दुवै संघलाई ग्रामीण अर्थतन्त्रको संरचनामा रूपान्तरण गर्ने योगदान गरेका कारण अवार्ड प्रदान गरिएको हो ।
नेपालको कृषि सहकारी केन्द्रीय संघले स्थानीय समुदायको जीवनस्तर उकास्न, दिगो कृषि खाद्य प्रणालीको प्रवद्र्धन र संरक्षण गर्न, जैविक विविधता र जलवायु संकटको प्रभावसँग लड्न सक्षम बनाउने कार्य गरेको भन्दै एफएओ अवार्ड प्रदान गरेको जनाएको छ ।
एफएफओको पुरस्कार छनोट समितिले दुई संस्थाबीचको अंकनजिक रहेकाले १० हजार डलरको पुरस्कार समान रूपमा बाँड्ने निर्णय गरेको हो । एफएओ काउन्सिलको १७२औं सत्रको अवसरमा ११ वैशाखमा रोमस्थित मुख्यालयमा पुरस्कार वितरण गरिएको थियो ।
वनकरिया, राहुटे पनि साना किसान कृषि सहकारीमा संलग्न
एफएओका महानिर्देशक क्यू डोंग्युले रचनात्मक रूपमा पछाडि छोडिएकालाई नवीन तरिकाबाट अगाडि बढ्ने मद्दत गरेको संघलाई सम्मान गरेको बताए । ‘नेपालमा कृषि खाद्य प्रणालीको दिगोपनाका लागि काम गरेका छौं । राहुटेका ७८ घरपरिवारलाई कृषि सहकारीमा समेटेर बाख्रा फार्म सञ्चालन गर्न लगायौं । उत्कृष्ट पनि भए ।’ कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक भन्छन् ।
नेपालको फिरन्ते राउटे समुदायलाई साना किसान कृषि सहकारी संस्थाले राहुटे जातिलाई समेत बाख्रापालना, तरकारी खेती र गहुँ उत्पादनमा समावेश गराउन सफल भएका छन् । गत पुसमा कृषि सहकारी केन्द्रीय संघले कृषिमा आबद्ध राउटे किसान डडेल्धुराका लालसिंह राउटेलाई उत्कृष्ट किसानबाट पुरस्कृत नै गरेको थियो । उनले सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी खेती तथा पशुपालन गर्दै आएका छन् ।
यसैगरी, सूचीकृति आदिवासी वनकरियाको फिरन्ते जीनवलाई परितर्वन गर्न पनि साना किसान कृषि सहकारीको योगदान रहेको अध्यक्ष पाठक बताउँछन् । स्थायी वस्तु मात्र बसाएका छैनन् उनीहरूले होमस्टे पनि सञ्चालन गर्न थालेका छन् ।
‘जंगलबाट वनकरियालाई सहकारीमार्फत आधुनिक मानव सभ्यतामा ल्याउन सफल भयौं र अहिले मकवानपुरको हाँडी खोलामा साना किसान कार्यक्रम सञ्चालन गरेर बसेका छन्,’ पाठकले भने । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा हाँडीखोला मुसेधाप बस्तीमा वनकरियाको घरमा एक रात बास बसेको समाचार चर्चामा थियो ।
‘यस्ता रचनात्मक कार्य, कृषिमा युवालाई आकर्षण गर्ने र सामूहिक खेतीको अवधारणमार्फत उत्पादनवृद्धि गर्दै खाद्य सुरक्षामा योगदान दिने कार्य गरेका कारण हामीलाई एफएपओले छनोट गरेको हुनुपर्छ । यो नेपालका लागि गर्वको विषय हो,’ पाठकले भने ।
साना किसान विकास लद्युवित्त वित्तीय संस्थाले भने साना किसान कृषि सहकारी संस्थालाई वित्तीय सेवा प्रदान गर्ने र संघसँग मिलेर साझेदारीमा काम गर्ने गरेको संस्थाका सीईओ डा. शिवराम प्रसाद कोइराला बताउँछन् ।
हाल कृषि सहकारी केन्द्रीय संघमा १२ सय साना किसान कृषि सहकारी संस्था आबद्ध छन् भने यस्ता संस्थामा १२ लाख घरपरिवार रहेका छन् । ‘साना किसानमा एक घर एक सदस्यको अवधारणा छ । र महिलाको आबद्धता बढी छ । ८२ प्रतिशत महिला आबद्धता छ,’ पूर्वमन्त्री तथा सहकारी विज्ञ केशव बडाल बताउँछन् ।
एउटा राम्रो संस्थाले अर्काे एउटा संस्था राम्रो बनाउने यसको कार्यक्रम पनि नेपाल सरकारले अनुसरण गरेको छ । ‘दुर्गममा कोही जान चाहँदैनन् । हामी कर्णालीमा १ सय साना किसान कृषि सहकारी बनाइरहेका छौं । जसले दुर्गमका किसानमा आधुनिकीकरण गर्न वित्तीय पहुँच सिर्जना गर्न योगदान गरेको छ,’ पाठकले भने । राजधानी दैनिकबाट