नेता कोइरालाको निधनप्रति काँग्रेसकाे शाेक वक्तव्य

रिपोर्ट नेपाल | 2021 Mar 18 | 02:08 pm 2345

माेरङ, चैत ५ः नेपाली काँग्रेसका नेता एवं विराटनगर उपमहानगरका पूर्व मेयर तथा संविधानसभा सदस्य अशोक कोइरालाको निधन भएको छ ।

मङ्गलबार राति घरमै अचानक बेहोस भएका ७८ वर्षीय कोइरालाको विराटनगरको न्यूरो अस्पतालमा बिहीबार बिहान निधन भएको हो ।
अस्पतालले न्यूमोनिया र सामान्य स्ट्रोक भएको परिवारलाई जानकारी दिएको थियो ।

नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला अशोक कोइरालाका सहोदर दाजु हुन् । कोइरालाका १ छोरा र १ छोरी छन्।

No description available.

स्वर्गीय काेइरालकाे निधनप्रति नेपाली कांग्रेसले शाेक वक्तव्य जारी गरेकाे छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरीत वक्तव्यमा भनिएकाे छ, प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहँदा ७ वर्ष जेल जीवन बिताउनु भएको थियो । स्वर्गीय कोइराला नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाका भाइ हुनुहुन्छ । स्वर्गीय कोइरालाले नेपाली कांग्रेसको विभिन्न तहमा रहेर संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र निष्ठावान नेतृत्वलाई गुमाएको छ ।

त्यसैगरी कांग्रेस सभापित शेरबहादुर देउवाले पनि काेइरालाकाे निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले भनेका छन्, नेपाली कांग्रेसका नेता एवं मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहत भएको छु । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नु भएको भूमिका सधैं प्रशंसनीय छ । उहाँको निधनबाट सिङ्गो नेपाली कांग्रेसले एक असल र निष्ठावान अग्रज व्यक्तित्वसँगै मोरङको भूगोलले एक सरल राजनीतिकर्मी गुमाएको छ । उहाँले पुर्याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.